नेतृत्वको पुस्तान्तरण नभईकन अब राप्रपा नयाँ बन्न सक्दैन: ज्ञानेन्द्र शाही

काठमाडौंर २० जेठ, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र देखिएको आन्तरिक विवादका बीच संसदीय दलका नेता तथा प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित सांसद ज्ञानेन्द्र शाहीले पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनलाई नेतृत्व हस्तान्तरण गर्दै मार्ग प्रशस्त गर्न आग्रह गरेका छन्।

पार्टी विभाजनको चर्चा चुलिरहेका बेला शाहीले सामाजिक सञ्जालमार्फत नेतृत्वको आलोचना गर्दै राप्रपामा पुस्तान्तरणको आवश्यकता औंल्याएका हुन्। शाहीले आगामी महाधिवेशन निष्पक्ष बनाउन अध्यक्ष लिङ्देनले पदबाट अलग भएर महाधिवेशन आयोजक समितिमार्फत नयाँ नेतृत्व चयनको वातावरण बनाउनुपर्ने बताए।

शाहीले राप्रपा तत्काल विभाजन हुने अवस्था नरहेको दाबी गर्दै केही नेताहरूले अलग बाटो रोजे पनि त्यसलाई पार्टी फुटेको रूपमा व्याख्या गर्न नमिल्ने बताए। उनले असन्तुष्ट पक्षलाई संवाद र एकताको माध्यमबाट समाधान खोज्न आग्रह गरे।

महाधिवेशनमा पुनः अध्यक्ष पदमा उम्मेदवार बन्ने तयारीमा रहेका लिङ्देनले स्वयं महाधिवेशन आयोजक समितिको नेतृत्व गर्नु नैतिक तथा प्रजातान्त्रिक दृष्टिले उचित नहुने शाहीको तर्क छ। “आफैँ उम्मेदवार हुने र आफैँ महाधिवेशन सञ्चालन गर्ने अवस्था निष्पक्ष हुन सक्दैन,” उनले भने।

पार्टीभित्र लामो समयदेखि देखिएको दुई पक्षीय संघर्षबारे बोल्दै शाहीले दुवै पक्षमा कमजोरी रहेको स्वीकार गरे। उनले राप्रपाको वर्तमान संकट समाधानका लागि नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण आवश्यक रहेको धारणा व्यक्त गरे।

लिङ्देनको नेतृत्वबारे प्रश्न उठाउँदै शाहीले पाँच वर्षको कार्यकालमा अपेक्षित परिणाम दिन नसकेको आरोप लगाए। “नेतृत्वको क्षमता देखिएन, पार्टीलाई नयाँ उचाइमा पुर्‍याउने काम भएन,” उनले भने।

यद्यपि, आफू आगामी महाधिवेशनमा अध्यक्ष पदको दाबेदार हुने वा नहुने विषयमा भने शाहीले स्पष्ट धारणा सार्वजनिक गरेनन्। उनले पार्टीभित्र थप छलफल र परामर्शपछि मात्रै आफ्नो भूमिका तय हुने बताए।

राप्रपाभित्र नेतृत्व परिवर्तनको बहस तीव्र बन्दै गइरहेका बेला शाहीको अभिव्यक्तिलाई पार्टीको आगामी महाधिवेशन र आन्तरिक शक्ति सन्तुलनसँग जोडेर हेरिएको छ।

More From Author

यी हुन् खारेज र पुनर्संरचनामा परेका ५५ वटा सरकारी निकाय

Leave a Reply

Your email address will not be published. Required fields are marked *