किष्ट अस्पतालद्वारा दुई सयभन्दा बढि अंगदाताहरु सम्मानित

ललितपुर, १४ जेठ: ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. १ इमाडोलस्थित किष्ट अस्पतालले दुई सयभन्दा बढि अंगदाताहरुलाई सम्मान गरेको छ।

अस्पतालको किष्ट प्रत्यारोपण केन्द्रद्वारा ग्वार्कोमा आज आयोजित अंङ्गदाता सम्मान कार्यक्रममा उपत्यका मेयर फोरमका अध्यक्ष एवम् ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले अङ्गदाताहरुलाई सम्मान गर्नुभएको हो।
सम्मान पश्चात् कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महानगरप्रमुख महर्जनले हरेक नागरिकलाई ओैषधि नै उपयोग गर्नु नपर्नेगरी नागरिकलाई स्वस्थ राख्न ध्यान दिनु जरुरी छ भन्दै तीनै तहका सरकारले यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिनुभयो।
“महानगरमा निर्वाचित भएपछि अहिलेसम्म गरेको सबै राम्रो काम गरेको छु, महानगरको २९ वटा क्षेत्रमध्ये चक्रपथ बाहिरका वडाहरुमा पूर्वाधारको काम गर्न बाँकी छ, चक्रपथभित्र भएका पूर्वाधार निर्माणका काम राम्रो भएको छ, सम्पदा निर्माणका काम सबै सकिएको छ, अबको समय शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रमा धेरै लगानी गर्नु आवश्यक छ, किष्ट अस्पतालसंग के,कसरी सहयोग गर्न सकिन्छ भनेर हामीले पनि ध्यान दिएका छौँ, सकरात्मक प्रस्ताव लिएर आउनुस्, स्वागत गर्न तत्पर छौँ।” प्रमुख महर्जनले भन्नुभयो।

कार्यक्रममा मन्तव्य राख्नुहुँदै महालक्ष्मी नगरपालिकाका प्रमुख हरिगोविन्द श्रेष्ठले महालक्ष्मी नगरवासीलाई उपचारमा १५ प्रतिशत छुट दिएकोमा अस्पतालप्रति आभार व्यक्त गर्नुभयो। उहाँले किष्ट अस्पताल वरिपरिका सडकहरू स्तरोन्नति गरेर कालोपत्रे गर्ने र खानेपानीको समस्या समाधान गरेर अस्पतालको सेवा प्रवाहका लागि सहजीकरण गर्ने प्रतिवद्धता जनाउनुभयो।

डाक्टर अभिषेक थापाले वि.सं. २०६२ सालमा स्थापित किष्ट यस अस्पतालले हालसम्म २ सय १७ भन्दा बढि व्यक्तिमा अंगप्रत्यारोपण गरेको जानकारी गराउँदै मृगौला, कलेजो प्रत्यारोपण र दुई फरक दाताबाट मृगौला र कलेजो एकैपटक प्रत्यारोपण कार्यमा किष्ट अस्पतालले उल्लेखनीय प्रगति हासिल गरेको जानकारी गराउनुभयो। उहाँले किष्ट अस्पताल नेपालको निजी अस्पताल मध्यै धेरै अंग प्रत्यारोपण गर्ने संस्था बन्न सफल भएको धारणा राख्नुभयो।

विगत पाँच वर्षदेखि ग्वार्कोस्थित किष्ट शिक्षण अस्पताल निजी क्षेत्रमै उच्ब सफलता दर सहित प्रत्यारोपण सेवामा अग्रणी रहँदै आएको जानकारी दिइएको छ। अस्पतालले हालसम्म २ सय २ जनामा मिर्गौला प्रत्यारोपण र १५ जनामा कलेजो प्रत्यारोपण गरी बिरामीहरुलाई दोसो जीवन प्रदान गरेको उल्लेख गरेको छ।

अस्पतालका अनुसार हालसम्म प्रत्यारोपण गरिएका बिरामीहरू मध्ये सबैभन्दा बढी उमेर ८० बर्षिय बिरामी तथा सबैभन्दा कम उमेर १९ वर्षका बिरामी रहेका छन् जसले प्रत्यारोपण सेवाको पहुँच र प्रभावकारिता दुवैलाई फराकिलो बनाएको छ। ८० बर्षिय महिला जसमा क्यान्सर रोग पहिचान भए‌को तर चिकित्सकीय रुपमा दान दिन योग्य हुँदा वहाँको अङ्गदानबाट वहाँको आफन्तको जीवन बाँच्न सफल भएको छ।
कार्यक्रममा वक्ताहरूले अंगदानलाई जीवनदानको महान कार्यको रूपमा व्याख्या गर्दै समाजमा अंगदान सम्बन्धी सचेतना अझ विस्तार गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। अंगदाताहरूको निस्वार्थ योगदानले धेरै बिरामीहरूको जीवनमा नयाँ आशा र ऊर्जा थपेको उल्लेख गर्दै अस्पतालले सम्पूर्ण अंगदाता तथा उनीहरूका परिवारप्रति विशेष सम्मान व्यक्त गरिएको थियो।

More From Author

स्ट्रक्चरल इन्जिनियर्सहरुकाे ‘निर्माण सूचना प्रणाली’ चार दिने तालिम सम्पन्न

गणतन्त्र राष्ट्र निर्माणको एक महान प्रेरणा र अभिभारा हो : राष्ट्रपति पौडेल

Leave a Reply

Your email address will not be published. Required fields are marked *