भक्तपुर, १४ असोज — नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनमा भक्तपुर क्षेत्र नं. २ बाट खस आर्यतर्फ केन्द्रीय महाधिवेशन प्रतिनिधि पदमा प्राध्यापक कपिल कार्कीले उम्मेदवारी घोषणा गर्नुभएको छ।
दशकौँदेखि नेपाली कांग्रेसका आदर्श र मूल्यमान्यताप्रति प्रतिबद्ध रहँदै आउनुभएका कार्कीले पछिल्लो २० वर्षदेखि पार्टी संगठन सुदृढीकरणमा सक्रिय भूमिका निर्वाह गर्दै आउनुभएको बताइएको छ।
कार्कीले कांग्रेसका आधारभूत सिद्धान्त राष्ट्रियता, लोकतन्त्र र समाजवादलाई आफ्नो राजनीतिको मूल आधार मान्दै राजनीतिलाई समाज रूपान्तरणको माध्यमका रूपमा लिनुभएको छ। प्राध्यापकसमेत रहनुभएका उहाँले शिक्षा क्षेत्रको गुणस्तर सुधारलाई देशको समग्र विकाससँग जोड्दै आउनुभएको छ।
उहाँको एजेन्डामा भक्तपुरको शैक्षिक गुणस्तर अभिवृद्धि गरी जिल्लालाई नमुना शैक्षिक गन्तव्यका रूपमा विकास गर्ने, सुसंस्कृत समाज निर्माण, सुशासन, पूर्वाधार विकास, सम्पदा संरक्षण तथा युवा स्वरोजगारका विषय प्राथमिकतामा रहेको बताइएको छ।
पार्टीभित्र पुस्तान्तरण र रूपान्तरणको बहस चलिरहेका बेला युवा पुस्तालाई नेतृत्वमा अघि बढाउनुपर्ने तथा अग्रजहरूको अनुभव, योगदान र त्यागलाई सम्मान गर्दै अघि बढ्नुपर्ने धारणा कार्कीले राख्नुभएको छ।
आफ्नो उम्मेदवारीबारे क्षेत्रीय प्रतिनिधिहरूलाई जानकारी गराउँदै कार्कीले आफूलाई प्राप्त हुने मतलाई पार्टीको रूपान्तरण र भक्तपुरको समृद्धिका लागि उपयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। उहाँले प्रतिनिधिहरूको विश्वास, सद्भाव र सहयोगको सम्मान गर्ने बताउनुभएको छ।