बाढीपछि बिल्लीबाठ बेत्रावती बजार ‘अकल्पनीय बाढी’ले बन्यो भग्नावशेष

 

नुवाकोट, १४ भदाै: नुवाकोटका आकाशमा छिनछिनमा हेलिकप्टर उडिरहेछन् । भोटेकोशी–त्रिशुलीमा आएको विनाशकारी बाढीले एकदेखि अर्को बजारसम्म पुग्ने सडक क्षतविक्षत छन् । सामान्य अवस्थामा सहजै पुगिने बेत्रावतीसम्मको यात्रा बाढीपछि आफैंमा चुनौतीपूर्ण छ ।

नुवाकोट र रसुवालाई जोड्ने त्रिशूली नदी आसपासको महत्वपूर्ण संगमस्थल बेत्रावती पाँच दिनअघिसम्म मानिस र सवारीको चहलपहलले भरिएको व्यस्त बजार थियो । तर केही मिनेटमै आएको भीषण बाढीले आज यहाँको परिचित दृश्य पूर्ण रूपमा बदलिदिएको छ ।

जहाँ घर थिए, त्यहाँ अहिले ढुंगा, माटो र बाढीले बगाएर ल्याएको गेग्य्रान, भग्नावशेष छ । कतै आधा ढलेका संरचना छन्, कतै अरू ठाउँबाट बगाएर ल्याइएका घरका सामान र संरचना थुप्रिएका छन् ।

घटनाको चार दिनपछि वैकल्पिक बाटो प्रयोग गरेर तीन घण्टाको कच्ची सडकको यात्रापछि हामी बेत्रावती बजार पुगेका थियौँ । स्थानीय इन्द्रबहादुर मगरसँग हाम्रो भेट भयो । उनले घटनाअघि र पछिका कथाव्यथा सुनाए ।

उनकाअनुसार बाढी आउँदैछ भन्ने जानकारी पाएपछि सुरक्षित स्थानमा भाग्न चार–पाँच मिनेटभन्दा बढी समय थिएन । ‘हामीलाई बाढी आउँदैछ भन्ने थाहा भएको जम्मा चार–पाँच मिनेटअघि मात्रै हो । यति ठूलो बाढी आउला भनेर कसैले सोचेको पनि थिएन,’ उनी घटनाको दिनतिर फर्किए ।

उनकाअनुसार पुलको एकातर्फ मात्रै करिब १ सय २० देखि १ सय २५ घर थिए । पुलपारिको नयाँपुल क्षेत्रमा पनि करिब एक सय घर थिए । आसपासका अन्य बस्तीसमेत जोड्दा सयौं घर प्रभावित भएका छन् । तर, अहिले बेत्रावतीका बासिन्दाका लागि सबैभन्दा ठूलो चिन्ता घर र सम्पत्तिको क्षति होइन । उनीहरुलाई चिन्ता छ – हाम्रा मान्छे कहाँ छन् ?

बेत्रावतीका आधा मान्छे हराएको इन्द्रबहादुरको आकलन छ । ‘जनसंख्याको झन्डै ५० प्रतिशत मान्छे हराइरहेका छन्,’ उनी भन्छन्, ‘कसैको परिवारका दुई जना गए, कसैको तीन जना । कतिपय घरमा एक जना बाँचेका छन्, कतिपयको त कोही पनि बाँकी छैन ।’

बाढी आएको दिन मगर आफैं रसुवातिर थिए । उनको परिवार भने बेत्रावतीस्थित घरमा थियो ।

स्थानीय आनन्दलाल श्रेष्ठले मगरकी छोरी अनितालाई खोला आउँदै गरेको खबर दिएका थिए । खबर पाएलगत्तै अनिता घरबाट बाहिर निस्किइन् । उनको छोरा पनि उनीसँगै थिए । केही मिनेटको त्यो दौडले उनीहरूको ज्यान बाँच्यो । ‘मेरी छोरी र नाति बाँच्नुभयो । छिमेकीले खबर नगरेको भए के हुन्थ्यो थाहा छैन,’ उनले सम्भावित दुर्घटनातर्फ लख काटे ।

सडक पार गर्न नपाउँदै बाढीले मानिसहरूलाई बगाएको स्थानीय बताउँछन् । घरभित्र रहेका, भाग्न खोजिरहेका र सुरक्षित स्थान खोजिरहेका धेरै मानिसहरू एकैछिनमा भीषण भेलमा परे । इन्द्रको आफ्नै घर पनि बाढीले बगायो । ‘अहिले म माथिको गाउँमा गएर बसेको छु । पहिले एउटा सानो एक कोठाको घर थियो । अहिले त्यहीँ बसिरहेका छौं। यहाँ आएर हेर्दा पनि केही बाँकी छैन,’ उनी दुःखी सुनिए ।

घटनापछि उनले परिवारलाई काठमाडौँ पठाएका छन् । उनी बेत्रावतीमै छन् । ‘१० वटा बंगुर छन् । दाना–पानी दिनुपर्छ भनेर फर्केर आउँछु,’ उनले आफू बेत्रावतीमा रहनुको कारण खुलाउँदै थपे, ‘परिवारलाई काठमाडौं पठँउा । म फेरि दाना लिएर यहाँ आउँछु अनि फेरि बास बस्न माथि गाउँमै फर्किन्छु ।’

बेत्रावती आसपासका बासिन्दा खोलाको बाढीसँग अपरिचित थिएनन् । सानातिना बाढी आउने भएकाले पहिलेपहिले मानिसहरू पुलमा उभिएर हेर्थे । तर यसपटक आएको बाढीले वर्षौंदेखिको अनुभव र अनुमानलाई गलत साबित गरिदियो । ‘खोला त पहिले पनि बढ्थ्यो । बाढी आयो भने हेर्न पनि जान्थ्यौँ । तर, यस्तो सबै बस्ती नै लैजाने गरी आउँछ भन्ने कसैले सोचेको थिएन,’ मगर सम्झन्छन् ।

बेत्रावतीमा अहिले प्रहरी र सुरक्षाकर्मीको प्रमुख काम बनेको छ – बाढीले बगाएकाको खोजी र शव व्यवस्थापन । नेपाल प्रहरी प्रधान कार्यालयबाट शव व्यवस्थापनका लागि प्रहरी वरिष्ठ उपरीक्षक विमलदास कँडेलको नेतृत्वमा टोली बेत्रावतीमा खटिएको छ । उनकाअनुसार बेत्रावती क्षेत्रमा एकैदिन ६ वटासम्म शव भेटिएका छन् । नजिकैको उत्तरगया विद्यालय क्षेत्रमा पनि थप तीन शव भेटिएको छ । प्रहरीले तीमध्ये एक जना विद्यालयका विद्यार्थी र दुई महिला रहेको जनाएको छ ।

शव सुरक्षित रूपमा बाहिर निकाल्ने विषय प्रहरीलाई चुनौती बनेको छ । बाढीले थुपारेको मलबा, दलदल र क्षतिग्रस्त भूगोलका कारण सुरक्षाकर्मीलाई घटनास्थलसम्म पुग्न र शव बाहिर निकाल्न कठिन भइरहेको छ । कतिपय स्थानमा सडकसमेत छैन । केही शव निकाल्न हेलिकप्टर आवश्यक परेको छ । ‘केही ठाउँमा हेलिकप्टर अवतरण गर्न पनि सकिँदैन । होभरिङ ‘हेलिकप्टर अगाडि–पछाडि नबढी एउटै ठाउँमा हावामा रहनु’ गरेर शव उठाउनुपर्ने अवस्था छ,’ कँडेलले सुनाए ।

बस्ती छैन, बस्ने ठाउँ छैन । बेत्रावतीमा खोजी तथा उद्धारमा खटिएका सुरक्षाकर्मी आफैं पनि कठिन परिस्थितिमा काम गरिरहेका छन् । बाढी प्रभावित क्षेत्रमा बस्न मिल्ने घर एकाध छन् । अधिकांश घरमा क्षति पुगेको छ भने धेरै स्थानीय सुरक्षित स्थानतर्फ गइसकेका छन् ।

खाना र बसोबासको समस्या पनि उत्तिकै छ । सामान्य लजिस्टिक सहयोगका लागि समेत जिल्ला सदरमुकाम विदुरसम्म पुग्न करिब तीन घण्टा लाग्छ । आउजाउमै करिब ६ घण्टा बित्ने भएकाले खोजी कार्यमा खटिएका टोलीका लागि आवश्यक सामग्री र व्यवस्थापन चुनौतीपूर्ण बनेको छ ।

बाढीबाट जोगिएका धेरै परिवार अहिले माथिल्लो गाउँ, आफन्तको घर र काठमाडौंसम्म पुगेका छन् ।सुरक्षित स्थानमा पुगेपछि पनि उनीहरूको समस्या सकिएको छैन ।

बाढीपीडितहरू पुगेका गाउँमा खानेकुराको अभाव हुन थालेको छ । स्थानीयसँग भएको चामल, पिठो र अन्य खाद्य सामग्री सकिन थालेको बाढीपीडित इन्द्रले सुनाए । ‘मान्छेहरू गाउँमा गएर बसेका छन् । पहिलेका गाउँलेलाई त पुग्थ्यो,’ उनी भन्छन्, ‘तर यतिका पीडितहरू गएपछि सबैलाई खुवाउनुपरेको छ । चामल र पिठो सकिन थालेको छ ।’

विद्युत् आपूर्ति नहुँदा समस्या झन् थपिएको छ । गाउँमा धान, मकै र अन्य खाद्यान्न नभएको होइन । तर, त्यसलाई प्रशोधन गरेर खान सक्ने अवस्था छैन । सरकारी राहत पर्याप्त रूपमा नपुगेको गुनासो पनि स्थानीयको छ । केही व्यक्तिगत संस्था, समुदाय र संगठनले राहत वितरण गरेपनि सबै प्रभावित क्षेत्रमा राहत पुग्न नसकेको उनीहरूको भनाइ छ ।

बेत्रावतीमा त्रिशुलीको बहाब घटिसकेको छ । तर पीडा घटेको छैन । कोही आफ्ना हराएका सदस्यको खोजीमा छन् । कोही शव पहिचान गर्ने प्रतीक्षामा छन् । कुनै परिवार अस्थायी बसोबासमा भोक र अभावसँग जुधिरहेका छन् ।

बगिसकेको बस्तीको बीचमा उभिएर इन्द्रबहादुर मगरसहित जीवनजवानी बेत्रावतीमा बिताएकाहरू भदौ १० को घटना विश्वास गर्न सकिरहेका छैनन् । तर, आँखैअघि मच्चिएको प्रलय सत्यभन्दा टाढा छैन । बेत्रावती बजार जहाँ सयौँ घर थिए, बाक्लो बस्ती थियो त्यहाँ आज केही बाँकी छैन

More From Author

महालक्ष्मी नगरपालिकाद्वारा बाढीपीडितका लागि ३० लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय

हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ्दै गएको छः प्रधानमन्त्री

Leave a Reply

Your email address will not be published. Required fields are marked *