गुरु पूर्णिमामा आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका खेलाडीद्वारा गुरु सम्मान

सिनियर तथा जुनियर खेलाडीहरू एकै स्थानमा भेला, प्रशिक्षक गुरुहरूप्रति आदर व्यक्त

ललितपुर, साउन २९ — आइकेओ क्योकुशिनकाई कराते डोजो, नखिपोटका सिनियर तथा जुनियर खेलाडीहरूले भव्य रूपमा गुरु पूर्णिमा मनाएका छन्। गुरु पूर्णिमाको अवसरमा आयोजित विशेष कार्यक्रममा खेलाडीहरूले आफ्ना प्रशिक्षक गुरुहरूलाई सम्मान गर्दै आशीर्वाद ग्रहण गरेका हुन्।

कार्यक्रममा डोजोका सम्पूर्ण सिनियर तथा जुनियर खेलाडीहरू एकै स्थानमा भेला भई गुरुहरूप्रति आदर र कृतज्ञता व्यक्त गरेका थिए। कार्यक्रममा प्रशिक्षकहरूलाई सम्मानपत्र तथा मायाको चिनो प्रदान गरिएको थियो।

डोजोले नियमित रूपमा खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि बेल्ट टेस्ट तथा विशेष प्रशिक्षण सञ्चालन गर्दै आएको जनाएको छ। यहाँ प्रशिक्षण लिने खेलाडीहरूले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्योकुशिनकाई कराते प्रतियोगिताहरूमा सहभागिता जनाउँदै उल्लेखनीय प्रदर्शन गर्दै आएका छन्।

खेलाडीहरूबाट सम्मान ग्रहणपछि मन्तव्य व्यक्त गर्दै आइकेओ क्योकुशिनकाई नेपालका ब्रान्च चिफ दीपक लामाले डोजोको मुख्य लक्ष्य सक्षम र उत्कृष्ट खेलाडी उत्पादन गर्नु रहेको बताउनुभयो। उहाँले यस डोजोमा प्रशिक्षण लिएका खेलाडीहरूले विगतमा विभिन्न प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेको उल्लेख गर्दै आगामी वर्षहरूमा अझ उत्कृष्ट नतिजा हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।

ब्रान्च चिफ लामाले प्रशिक्षार्थीहरूलाई भविष्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै जुनसुकै राष्ट्रमा पुगेर उत्कृष्ट खेल प्रदर्शन गर्न सफल हुने अवसर प्राप्त होस् भन्ने शुभकामना पनि व्यक्त गर्नुभयो।

गुरु पूर्णिमाको अवसरमा आयोजित कार्यक्रममा प्रशिक्षक सेन्सेई समिर श्रेष्ठ, मुख्य प्रशिक्षक समीर श्रेष्ठ तथा प्रशिक्षकद्वय सेन्सेई उत्तम स्थापित र सेन्सेई दिनेश स्याङ्तानलाई खेलाडीहरूले सम्मान गरेका थिए।

More From Author

नीति प्रतिष्ठानको आयोजनामा विपद व्यवस्थापन सम्बन्धी ३ दिने प्रशिक्षण काठमाडौमा हुने

उद्योग विभागका अधिकांश सेवा पूर्ण रूपमा अनलाइन

Leave a Reply

Your email address will not be published. Required fields are marked *