क्यान्सर उपचारमा विश्वस्तरीय उपचार सेवा प्रदान गरिरहेको नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरको दावी

ललितपुर, २५ साउन: हरिसिद्धिमा सञ्चालित नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरले नाक, कान र घाँटीको क्यान्सर उपचारमा विश्वस्तरीय उपचार सेवा प्रदान गरिरहेको दावी गरेको छ ।अस्पतालले आफ्नो एक दशकको सफलताको जानकारी दिन शनिबार ललितपुरमा आयोजना गरेको पत्रकार सम्मेलनमा अस्पतालका कार्यकारी अध्यक्ष डा. सुदीप श्रेष्ठले टाउको र घाँटीको क्यान्सरको उपचारमा  दक्ष जनशक्तिको उपयोग र आधुनिक प्रविधिको प्रयोगमा विश्वस्तरीय प्रतिस्पर्धात्मक सेवाहरु प्रदान गरिरहेको जानकारी गराउनुभएको हो ।
“पछिल्लो समय धूमपान, सुर्ती, पराग तथा भेप सेवन गर्ने २० देखि ४० वर्ष उमेर समूहका युवामा समेत मुखको क्यान्सर बढ्दै गएको छ, मुखमा लामो समयसम्म निको नहुने घाउ, सेतो वा रातो दाग, गाँठागुँठी वा अन्य असामान्य परिवर्तन देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग जाँच गराउनुपर्ने हुन्छ, प्रारम्भिक चरणमै क्यान्सर पत्ता लागे उपचार सरल, कम खर्चिलो र सफल हुने सम्भावना अत्यधिक रहन्छ।” कार्यकारी अध्यक्ष डा. श्रेष्ठले भन्नुभयो।
अस्पतालको नाक, कान तथा घाँटी विभागका प्रमुख एवं वरिष्ठ क्यान्सर शल्यचिकित्सक डा. प्रभात चन्द्र ठाकुरका अनुसार अधिकांश बिरामीहरु क्यान्सरको रोग तेस्रो वा चौथो चरणमा पुगेपछि मात्रै उपचारका लागि अस्पताल आउनेहरुको तथ्याँक धेरै रहेको छ । उहाँले सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिमा जिब्रो, गिजा, गालाको भित्री भाग, तालु तथा मुखभित्र दुईदेखि तीन सातासम्म निको नहुने घाउ, सेतो वा रातो दाग वा अन्य असामान्य परिवर्तन देखिए तत्काल विशेषज्ञ चिकित्सकसँग सम्पर्क गर्नुपर्ने जानकारी गराउनुभयो ।
पछिल्लो समय नाक कान घाँटीको क्यान्सरका विरामीहरु बढ्दै गएको जानकारी गराउँदै महिलाहरूमा थाइराइडको क्यान्सर बढ्दै गएको वताउनुभयो । आफ्नो दश वर्षे उपचार सेवामा उल्लेख्य सफलता हासिल गरेको दावी गर्दै अस्पतालले अहिले विरामीहरुमा क्यान्सरको रोग पत्ता लागेको विरामीहरुमा एक देखि दुई दिनमा समस्या पहिचान गरेर उपचार सेवा सुरु गर्ने गरेको जानकारी दिइएको छ । डा. ठाकुरले मुखको क्यान्सरको प्रारम्भिक पहिचान सामान्य शारीरिक परीक्षणबाटै सम्भव हुने भएकाले ‘सेल्फ ओरल एक्जामिनेसन’ लाई राष्ट्रिय जनचेतना कार्यक्रमका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो । उहाँले प्राथमिक स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका तथा दन्त चिकित्सकलाई समेत प्रारम्भिक पहिचानसम्बन्धी तालिम दिँदा ठूलो उपलब्धि हासिल गर्न सकिने उल्लेख गर्नुभयो ।
अस्पतालका मेडिकल निर्देशक डा. बिजेशराज घिमिरेले नेपाल क्यान्सर अस्पतालले १० वर्षको अवधिमा मुख तथा घाँटीको क्यान्सर उपचारमा उल्लेखनीय सफलता हासिल गरेको बताउनुभयो । पाँच हजारभन्दा बढी सफल शल्यक्रियाले अस्पतालको दक्षता र अनुभवलाई पुष्टि गरेको उहाँले उल्लेख गर्नुभयो । पत्रकार सम्मेलनमा चिकित्सकहरूले मुखको क्यान्सरको प्रारम्भिक पहिचानमा दन्त चिकित्सक, ओरल हाइजिनिस्ट, प्राथमिक स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो । उनीहरूलाई आवश्यक तालिम उपलब्ध गराई समयमै विशेषज्ञकहाँ सिफारिस गर्ने प्रणाली विकास गर्न सके प्रारम्भिक अवस्थामै धेरै बिरामीको उपचार सम्भव हुने उहाँहरूको भन्नाइ थियो ।चिकित्सकहरूले मुखको क्यान्सरको स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्न ठूलो बजेट आवश्यक नपर्ने भए पनि यसले प्रारम्भिक पहिचानमा महत्वपूर्ण योगदान पुर्‍याउने बताउनुभयो । सरकारले मुखको क्यान्सरको रोकथाम तथा प्रारम्भिक पहिचानलाई राष्ट्रिय क्यान्सर नियन्त्रण कार्यक्रमको प्राथमिकतामा राख्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
कार्यक्रममा अस्पतालका रेडिएसन थेरापी विभाग प्रमुख ड. गिसुपनिख प्रसिको तथा प्रमुख कार्यकारी अधिकृत कपिल गौतमले नेपालमा क्यान्सर उपचार सेवाको विस्तार, आधुनिक प्रविधिको प्रयोग तथा बिरामीमैत्री सेवा विकासका विषयमा आफ्ना धारणा राख्दै नेपालमै अन्तर्राष्ट्रिय स्तरको प्रविधि, अनुभवी चिकित्सक र बहुविषयगत उपचार सेवा उपलब्ध भइसकेकाले टाउको र घाँटीको क्यान्सरका बिरामीले उपचारका लागि अनावश्यक रूपमा भारत वा अन्य मुलुक जानुपर्ने अवस्था नरहेको बताउनुभयो । समयमै रोग पहिचान, नियमित मुख परीक्षण र विशेषज्ञ उपचारमा पहुँच विस्तार गर्न सरकार, सञ्चारमाध्यम तथा स्वास्थ्यकर्मीले संयुक्त रूपमा जनचेतना अभियान सञ्चालन गर्नुपर्नेमा उहाँहरूले जोड दिनुभयो ।
विशेषगरी मुखको क्यान्सर, महत्वपूर्ण स्वास्थ्य समस्याका रूपमा रहेको अस्पतालले जनाएको छ। उपलब्ध तथ्यांकअनुसार नेपालमा हरेक वर्ष करिब १ हजार ३६९ जना मुखको क्यान्सरका नयाँ बिरामी थपिने गरेका छन् भने करिब ८४३ जनाको मृत्यु हुने गरेको छ।
मुखको क्यान्सरका प्रमुख जोखिम तत्वमा सुर्तीजन्य पदार्थ, खैनी तथा अन्य धूमरहित सुर्तीजन्य पदार्थ, सुपारी, धूमपान र मदिरा सेवन रहेका छन्। विशेषगरी सुर्ती, सुपारी र मदिराको संयुक्त प्रयोगले जोखिम थप बढाउने गर्छ। नेपाल तथा दक्षिण एसियाली क्षेत्रमा सुपारी तथा सुर्तीजन्य पदार्थको प्रयोग मुखको क्यान्सरसँग महत्वपूर्ण रूपमा सम्बन्धित रहेको अस्पतालले जनाएको छ।अस्पतालका अनुसार मुखको क्यान्सर रोकथाम गर्न सकिने रोग भए पनि यसको ठूलो भार अझै चुनौतीका रूपमा रहेको छ। यसको प्रमुख कारण जोखिमपूर्ण पदार्थको निरन्तर प्रयोगसँगै रोगका लक्षण देखिएपछि उपचारका लागि स्वास्थ्य संस्थामा पुग्न हुने ढिलाइ हो।प्रस्तुत तथ्यांकअनुसार नेपालमा लक्षण सुरु भएपछि पहिलो स्वास्थ्य संस्थामा पुग्न औसत ३१ दिन, पहिलो सम्पर्कपछि क्यान्सरको निदान हुन थप ४८ दिन र लक्षण सुरु भएको समयदेखि उपचार सुरु हुन करिब ११० दिन लाग्ने गरेको छ। करिब २५ प्रतिशत बिरामीमा लक्षण सुरु भएको ६ महिनाभन्दा बढी समयपछि मात्र उपचार सुरु हुने गरेको तथ्यांकले देखाएको छ।यसरी उपचारमा हुने ढिलाइका कारण धेरै बिरामी अस्पताल पुग्दा क्यान्सर उन्नत अवस्थामा पुग्ने गरेको अस्पतालले जनाएको छ। ढिलो उपचार, जनचेतनाको कमी, विखण्डित उपचार प्रणाली, जटिल शल्यक्रियाका लागि आवश्यक पूर्वाधार तथा पुनर्निर्माण सेवाको सीमितता नेपालमा हेड एन्ड नेक क्यान्सर उपचारका प्रमुख चुनौतीका रूपमा देखिएका थिए।यिनै चुनौतीलाई सम्बोधन गर्ने उद्देश्यले नेपाल क्यान्सर अस्पतालले सन् २०१६ देखि हेड एन्ड नेक अन्कोलोजी सेवा विकासको यात्रा सुरु गरेको जनाएको छ। अस्पतालले जटिल क्यान्सरको उपचारका लागि शल्यचिकित्सकसँगै एनेस्थेसिया, प्याथोलोजी, रेडियोलोजी, अन्कोलोजी, नर्सिङ तथा पुनर्स्थापना लगायतका विभिन्न विधाका विशेषज्ञलाई एउटै उपचार प्रणालीमा जोड्दै सेवा विस्तार गरेको जनाएको छ।अस्पतालका अनुसार यसको उद्देश्य केवल क्यान्सरको शल्यक्रिया गर्नु नभई नेपालमै जटिलभन्दा जटिल टाउको, मुख र घाँटीको क्यान्सरको समयमै र गुणस्तरीय उपचार गर्न सक्ने प्रणाली निर्माण गर्नु थियो।सन् २०१६ मा सुरु भएको यो यात्रा पूर्वाधार निर्माण, शल्यचिकित्सा, पुनर्निर्माण, नवप्रवर्तन र उत्कृष्टता हुँदै सन् २०२६ सम्म आइपुगेको अस्पतालले जनाएको छ।अस्पतालले आगामी दिनमा पनि जटिल क्यान्सरको उपचारलाई थप प्रभावकारी बनाउँदै अत्याधुनिक शल्यचिकित्सा तथा पुनर्निर्माण सेवा विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।

More From Author

राष्ट्रपति रामचन्द्र पौडेल समक्ष मुस्लिम आयोगको बार्षिक प्रतिवेदन पेश

मन्त्री गौतमद्वारा मेलमिलापसम्बन्धी विधेयक प्रतिनिधि सभामा टेबल

Leave a Reply

Your email address will not be published. Required fields are marked *