बीपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगिताको विजेता पूर्णलक्ष्मी न्यौपाने

ललितपुर, ६ भदौ, नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले  आयोजना गरेको बीपी स्मृति ‘ग्रीन रन महिला रि–रन’ प्रतियोगितामा पूर्णलक्ष्मी न्यौपाने विजेता हुनुभएको छ।
प्रतिष्ठानले आज ललितपुरमा आयोजना गरेको प्रतियोगितामा पाँच किलोमिटर दौड १७ मिनेट ४२.८ सेकेन्डमा पूरा गर्दै पूर्णलक्ष्मी न्यौपाने प्रथम हुनुभएको हो । त्यस्तै निशा मस्कोटीले १७ मिनेट ४६.२ सेकेन्डमा दौड पूरा गर्दै द्वितीय तथा निर्मला केसीले १८ मिनेट ९.१ सेकेन्डमा पूरा गर्दै तृतीय स्थान हासिल गर्नुभएको छ।
त्यसैगरी सुनसरी रोकाया चौथो, श्रृजना पाण्डे पाँचौँ र आशा रावत छैटौँ हुनुभएको छ।
विजेताहरूलाई नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले नगद पुरस्कारको चेक हस्तान्तरण गर्नुभएको थियो। सहमहामन्त्रीद्वय डा. डिला संग्रौला पन्त र मुक्ताकुमारी यादवले क्रमशः ट्रफी तथा पदक प्रदान गर्नुभएको थियो।
प्रतियोगितामा प्रथम हुनेलाई रु. ५० हजार, द्वितीयलाई रु. २५ हजार, तृतीयलाई रु. २० हजार, चौथोलाई रु. १२ हजार, पाँचौँलाई रु. १० हजार र छैटौँलाई रु. ८ हजार पुरस्कार प्रदान गरिएको थियो।
पाटन दरबार स्क्वायर, मंगलबजारबाट सुरु भएको दौड पुल्चोक–झम्सिखेल–भनिमण्डल– एकान्तकुना –जावलाखेल–पुल्चोक हुँदै पुनः पाटन दरबार स्क्वायरमा पुगेर सम्पन्न भएको थियो।
नेपाल महिला संघको सहभागितामा आयोजित प्रतियोगिता सुरु हुनुअघि स्थानीय नागरिकका तर्फबाट धिमे बाजा तथा लाखे नृत्य प्रस्तुत गरिएको थियो।
दौडमा सहभागी महिलाहरूले यसै साता बाराको जीतपुरसिमरा नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी तीन वर्षीया बालिकाप्रति न्यायको माग गर्दै ‘Justice for Garima Chaudhary’ लेखिएको प्लेकार्ड बोकेर मौन प्रदर्शनसमेत गरेका थिए।

More From Author

महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै देउवा र खड्का सर्वोच्च अदालत पुगे

उपत्यकाको फोहोर व्यवस्थापनबारे उच्चस्तरीय छलफल, सबै पालिकाद्वारा स्पष्ट कार्ययोजना बनाएर अघि बढ्ने प्रतिवद्धता

Leave a Reply

Your email address will not be published. Required fields are marked *