कप्तानगञ्जसहित तराईका जिल्लामा देखिएको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, शान्ति कायम गर्न आग्रह

काठमाडौं, १६ साउन/ नेपाल उद्योग वाणिज्य महासंघले सुनसरीको कप्तानगञ्जसहित तराईका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा देखिएको अशान्त वातावरण, श्रृङ्खलाबद्ध घटनाक्रम तथा त्यसबाट सर्वसाधारणमा उत्पन्न तनावप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

महासंघले विहिबार जारी गरेको प्रेस विज्ञप्तिमार्फत घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

कार्यबाहक अध्यक्ष सुरकृष्ण वैद्यद्वारा जारी विज्ञप्तिमा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एकताको अनुपम उदाहरण रहेको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र विभिन्न जातजाति, भाषा र समुदायबीचको आपसी भाइचारा, सामाजिक सद्भाव र सहिष्णुताको केन्द्रका रूपमा परिचित रहेको जनाइएको छ।

महासंघले कुनै पनि बहानामा हुने सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको हित नगर्ने उल्लेख गर्दै यस्ता घटनाले सामाजिक सद्भावमा खलल पुर्‍याउनुका साथै सर्वसाधारणको दैनिक जीवन, उद्योग–व्यापार र समग्र आर्थिक गतिविधिमा गम्भीर नकारात्मक असर पार्ने जनाएको छ। सामाजिक सद्भाव र शान्तिलाई मुलुकको समृद्धि तथा आर्थिक विकासको आधारका रूपमा महासंघले व्याख्या गरेको छ।

महासंघले जुनसुकै प्रकारका मतभेद वा असमझदारीको समाधान शान्तिपूर्ण वार्ता, संवाद र आपसी समझदारीबाट मात्र सम्भव हुने विश्वास व्यक्त गर्दै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति–सुरक्षाको पूर्ण प्रत्याभूति दिलाउन स्थानीय प्रशासन र सरकारसँग माग गरेको छ।

साथै, भ्रम, उत्तेजना र अफवाहबाट मुक्त भई संयमता अपनाउन तथा परापूर्वकालदेखि कायम रहँदै आएको सामाजिक सद्भाव र भाइचारालाई अझ सुदृढ बनाउन सबै पक्षसँग आग्रह गरेको छ।

महासंघले तराई क्षेत्रमा देखिएको वर्तमान तनावपूर्ण अवस्थालाई अन्त्य गरी दिगो शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक गुरु, सञ्चारकर्मी तथा स्थानीय अगुवाहरूले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएको छ।

More From Author

सञ्चारमन्त्री डा तिमिल्सिनासँग इजरायली राजदूतको शिष्टाचार भेट

राष्ट्रिय विभूति  वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस मनाइयो

Leave a Reply

Your email address will not be published. Required fields are marked *