काठमाडौँ, १६ साउन/ वि. सं १८७३ साउन १६ गते गोसाइँकुण्डमा देहत्याग गर्नुभएका नेपाल एकीकरणमा योगदान गर्नुभएका राष्ट्रिय विभूति वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस भव्यताकासाथ मनाइएको छ ।
राष्ट्रिय विभूति अमरसिंह थापा प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा विसं १८०० मा नुवाकोट विजय गरेर श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहले शिलान्यास गरेको नेपाल एकीकरण अभियानमा अमरसिंह थापाले पु¥याउनुभएको योगदानका विषयमा स्मरण गरिएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै सर्वोच्च अदालतका न्यायधीश मेघराज पोखरेलले अमरसिंह थापा इतिहासको असाधारण व्यक्तित्व भएको बताउनुभयो । राष्ट्रनिष्ठा र स्वाभिमानले युक्त थापाले प्रलोभन आउँदा ‘म बाघको बच्चा ९डमरु० हुँ, मलाई सिनो खाने कुकुर नसम्झ’ भनी दिनुभएको अभिव्यक्तिले नै उहाँको व्यक्तित्व प्रस्ट हुने बताउनुभयो । सबै नेपालीले अमरसिंहको चरित्र बोक्नुपर्ने समय आएको न्यायधीश पोखरेलले बताउनुभयो । स्वाभिमानबाट बनेको अमरसिंहको इतिहास कसैले मार्न चाहेर नमर्ने पनि उहाँको भनाइ थियो ।
वाग्मती प्रदेशसभा सदस्य एवं प्रदेशका पूर्वमन्त्री दीपेन्द्र श्रेष्ठले कुमाउ, गढवाल, काँगडालगायतका स्थल अमरसिंहले नेपालमा गाभ्न सफल भएको जानकारी दिनुभयो । यस्ता व्यक्तित्वका नाममा ऐतिहासिक सङ्ग्रहालय निर्माणका लागि प्रदेश सरकारबाट सहयोगको पहल गर्ने प्रतिबद्धता पनि उहाँले जनाउनुभयो । अर्का वाग्मती प्रदेशसभा सदस्य उद्धव थापाले धादिङको केवलपुरमा निर्माण भएको बडाकाजी अमरसिंह धामको विकासका लागि वाग्मती प्रदेश सरकाबाट सहयोगका लागि पहल गर्ने बताउनुभयो ।