बजारमा नक्कली उत्पादन नियन्त्रण अभियान तीव्र, सयभन्दा बढी शंकास्पद वस्तु नियन्त्रणमा

काठमाडौं, १७ साउन: बजारमा नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको सूचना सार्वजनिक भएपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले त्यस्ता उत्पादनको बिक्री–वितरण तत्काल रोक्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई निर्देशन दिनुभएको छ।
मन्त्री यादवको निर्देशनसँगै विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको जनाएको छ। नियन्त्रणमा लिइएका उत्पादनहरूको गुणस्तर तथा मौलिकता परीक्षणका लागि प्रयोगशालामा परीक्षण भइरहेको विभागले जानकारी दिएको छ।
मन्त्री यादवले उपभोक्ताको स्वास्थ्य र अधिकारसँग प्रत्यक्ष सरोकार राख्ने विषयमा कुनै पनि प्रकारको लापरबाही स्वीकार्य नहुने स्पष्ट पार्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ। साथै, परीक्षणबाट दोषी प्रमाणित हुने व्यक्ति वा संस्थामाथि प्रचलित कानुनबमोजिम कडा कारबाही गर्न पनि उहाँले विभागलाई निर्देशन दिनुभएको छ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक मोति सापकोटाले बजारमा अझै पनि केही नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भइरहेकाले विभाग नियमित रूपमा बजार अनुगमनमा सक्रिय रहेको बताउनुभयो।
उहाँका अनुसार नियन्त्रणमा लिइएका उत्पादनहरूको प्रयोगशाला परीक्षण जारी छ। परीक्षण प्रतिवेदन प्राप्त भएपछि सम्बन्धित उत्पादनमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइनेछ। साथै, उपभोक्ताले शंकास्पद वा नक्कली उत्पादन देखेमा सम्बन्धित निकायमा जानकारी गराउन विभागले आग्रह गरेको छ।
मन्त्री यादवले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने तथा बजारमा नक्कली उत्पादन बिक्री–वितरण गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्दै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउने सरकारको प्रतिबद्धता दोहोर्याउनुभएको छ।

More From Author

राष्ट्रिय विभूति  वडाकाजी अमरसिंह थापाको २१०औँ स्मृति दिवस मनाइयो

नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे छानबिन गर्न गठित समितिद्वारा प्रतिवेदन पेश

Leave a Reply

Your email address will not be published. Required fields are marked *