चितवन/२१ साउन: विश्व जडीबुटी दिवस तथा आयुर्वेद शिरोमणि परम श्रद्धेय आचार्य श्री बालकृष्ण जी महाराजको शुभ जन्मोत्सवको पावन अवसरमा चितवनको भरतपुर-१८, गुञ्जनगरस्थित पर्यटकीय स्थल गुञ्जनगर ग्रिनपार्क परिसरमा भव्य कार्यक्रम सम्पन्न भएको छ।
गुञ्जनगर पतञ्जलि साधना केन्द्रको आयोजनामा मंगलबार भएको उक्त कार्यक्रममा देवहवन (हवन-यज्ञ), आयुर्वेदिक औषधीय बिरुवा रोपण तथा वितरण कार्य उत्साहका साथ सम्पन्न गरियाे ।
कार्यक्रमको सुरुवात वैदिक मन्त्रोच्चारणका साथ गरिएको देवहवनबाट भएको थियो। वातावरण शुद्धीकरणका साथै मानसिक एवं आध्यात्मिक सकारात्मक ऊर्जा प्रवाह गर्ने उद्देश्यले गरिएको हवनमा सहभागीहरूले गायत्री मन्त्र जप गर्दै आचार्य बालकृष्ण महाराजज्यूको सुस्वास्थ्य र दीर्घायुको कामना गरेका थिए।
त्यसैगरी, प्रकृति एवं पर्यावरण संरक्षण तथा आयुर्वेद र जडीबुटीको महत्त्वलाई उजागर गर्ने उद्देश्यले ग्रिनपार्क परिसरमा विभिन्न प्रजातिका गुणी औषधीय बिरुवाहरू रोपिनुका साथै उपस्थित साधक-साधिकाहरूलाई बिरुवा वितरण समेत गरिएको थियो।
गुञ्जनगर पतञ्जलि साधना केन्द्रका अध्यक्ष दयानिधि अर्यालको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा
प्रमुख अतिथि पतञ्जलि भरतपुर महानगर महिला समिति महासचिव भगवती पौडेल सुवेदी, अतिथिहरू रेडियो सािहनाेका अध्यक्ष एवम् नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सचिव सृजना अर्याल रेडियो साहिनाेका सञ्चालक विश्वनिधि अर्याल विश्व हिन्दू परिषद् नेपाल बागमती प्रदेश सचिव एवम् आई.टी. विज्ञ उपेन्द्र अर्याल
साथै, साधना केन्द्रका पदाधिकारीहरू, स्थानीय समाजसेवी, योग साधक-साधिका तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रमको कुशलतापूर्वक सञ्चालन गुञ्जनगर रेडक्रस उपशाखाका अध्यक्ष एवम् साधना केन्द्रका महासचिव हरि राज अर्यालले गर्नुभएको थियो।
कार्यक्रमका अध्यक्ष दयानिधि अर्यालले आयुर्वेद र योगको सन्देशलाई जनस्तरसम्म पुर्याउनुपर्नेमा जोड दिएका थिए।
आयोजक गुञ्जनगर पतञ्जलि साधना केन्द्रले यस्ता धार्मिक, सामाजिक तथा वातावरणीय कार्यक्रमहरूले समाजमा स्वास्थ्य चेतना अभिवृद्धि गर्नुका साथै प्रकृति एवं पर्यावरण संरक्षणमा ठूलो योगदान पुर्याउने विश्वास व्यक्त गर्दै आगामी दिनमा पनि योग र आयुर्वेदको प्रचारप्रसारमा निरन्तर लागिपर्ने प्रतिबद्धता जनाएको छ।