मौलिकता र आधुनिकतालाई सँगसँगै अघि बढाउनुपर्नेमा सभापति थापाको जोड

ललितपुर, २१ कात्तिक: नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाली समाजको मौलिकता, परम्परा र आधुनिकतालाई सँगसँगै अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ।
नेपाल सम्बत ११४७ को अवसरमा नागबहाल टोल सुधार समितिले आज शनिबार यहाँ आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्नुहुँदै सभापति थापाले समाजको विकासका क्रममा पुराना सांस्कृतिक तथा सामाजिक सम्पदाको संरक्षण गर्दै नयाँपनलाई पनि आत्मसात् गर्नुपर्ने बताउनुभएको हो।
“ललितपुरका विभिन्न स्थानमा पुग्दा मलाई विशेष खुसी लाग्छ, मौलिकता र आधुनिकतालाई सँगसँगै संरक्षण गर्ने कुरामा ललितपुरले ध्यान दिएको छ,भौतिक सम्पदाभन्दा पनि समाजमा कायम रहेका प्रेम, सद्भाव, विश्वास र भाइचाराजस्ता अमूर्त सम्बन्धहरू बढी महत्वपूर्ण हुने बताए। टोल सुधार समिति जस्ता स्थानीय संस्थाहरूले समाजमा यस्ता सम्बन्ध र सामुदायिक एकतालाई मजबुत बनाउन महत्वपूर्ण भूमिका खेल्छन्, यसलाई ललितपुरले ध्यान दिएको छ।” उहाँले भन्नुभयो।
नयाँपन भित्र्याउने नाममा कतिपय स्थानमा पुराना संरचना पूर्ण रूपमा भत्काइएको र पुरानोलाई संरक्षण गर्ने क्रममा नयाँ विकासलाई स्थान नदिइएको उदाहरण प्रस्तुत गर्दै उहाँले दुवै पक्षलाई सन्तुलित रूपमा अघि बढाउनु आवश्यक रहेको धारणा राख्नुभयो।
“हाम्रो समाजले अब योभन्दा बढी घृणा र नकारात्मकता थेग्न सक्दैन, समाजलाई अगाडि बढाउन नकारात्मकताभन्दा सकारात्मकता र सकारात्मक ऊर्जाको मात्रा बढी हुनुपर्छ।” उहाँले भन्नुभयो।
उहाँले नेपाली समाजलाई आफ्नो जरा, टोल, समुदाय, चाडपर्व र सामाजिक सम्बन्धसँग पुनः जोड्नुपर्ने आवश्यकता औँल्याउनुभयो। प्रविधि र डिजिटल संसारमा मात्र सीमित नभई मानिसहरूबीच प्रत्यक्ष भेटघाट, आपसी संवाद र सामाजिक सम्बन्धलाई प्राथमिकता दिनुपर्नेमा उहाँले जोड दिनुभयो।
स्थानीयस्तरमा आयोजना हुने शुभकामना आदानप्रदान कार्यक्रम बाहिरबाट सामान्य देखिए पनि सामाजिक एकता र सम्बन्ध विस्तारका दृष्टिले महत्वपूर्ण रहेको उहाँले बताउनुभयो।

More From Author

कांग्रेस ललितपुर क्षेत्र नं. १ मा कृष्णचन्द्र महर्जन सर्वसम्मत क्षेत्रीय सभापति चयन

“द सनसाइन फ्लड” पुस्तकमा समेटियो भोटेकोशी–त्रिशूली बाढीको विपद्, उद्धार र पुनर्निर्माणको कथा

Leave a Reply

Your email address will not be published. Required fields are marked *