ललितपुर, २१ कात्तिक: रसुवा, नुवाकोट र धादिङलगायत भोटेकोशी–त्रिशूली नदी करिडोरमा २०८३ साल भदौ १० मा गएको विनाशकारी बाढी, त्यसले निम्त्याएको मानवीय तथा भौतिक क्षति र विपद्पछिको राहत तथा पुनर्निर्माण प्रयासलाई समेटेर ‘द सनसाइन फ्लड’ नामक पुस्तक प्रकाशित भएको छ ।
तरङ्ग नेपालद्वारा आज शनिबार ललितपुरमा आयोजित कार्यक्रममा पुस्तकको आवरण सार्वजनिक गरिएको हो। कार्यक्रममा विपद् व्यवस्थापन, इन्जिनियरिङ, अनुसन्धान तथा विकास क्षेत्रका विज्ञ, विभिन्न संघसंस्थाका प्रतिनिधि, लेखक, सम्पादक तथा अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
डा. ईश्वर थापा र इन्जिनियर राजन थापाको लेखन तथा सात जना सह-सम्पादकहरूको योगदान रहेको उक्त पुस्तकमा भोटेकोशी बाढीको उत्पत्ति, प्रभाव, मानवीय क्षति, उद्धार तथा खोजीका अनुभव, प्रभावित समुदायको अवस्था र आगामी दिनमा यस्ता विपद्को जोखिम न्यूनीकरणका उपायहरू समेटिएका छन्।
पुस्तकको शीर्षक ‘द सनसाइन फ्लड’ ले उक्त विपद्को असामान्य प्रकृतिलाई प्रतिबिम्बित गर्दछ। २६ अगस्ट २०२६ मा सामान्यतया बाढी आउँदा देखिने वर्षा, बादल वा नदीको सतह बढ्ने संकेतबिना नै हिमालय क्षेत्रबाट हिउँ तथा चट्टानको पहिरोले ल्हेन्दे नदी हुँदै भोटेकोशी र त्रिशूली नदी प्रणालीमा विनाशकारी बाढी निम्त्याएको थियो। उक्त घटनाले रसुवा, नुवाकोटलगायत नदी तटीय क्षेत्रका बस्ती, पूर्वाधार तथा जनजीवनमा ठूलो क्षति पुऱ्याएको थियो।
‘द डे द माउन्टेन फेल विदाउट अ क्लाउड इन द स्काई’ उपशीर्षक रहेको उक्त पुस्तकले आकाशमा बादल नलागेको र वर्षा नभएको अवस्थामा हिमपहिरो तथा चट्टान खस्दा कसरी विनाशकारी बाढी उत्पन्न भयो भन्ने घटनालाई विस्तृत रूपमा प्रस्तुत गरेको छ ।
पुस्तकमा २६ अगस्ट २०२६ मा हिउँ र चट्टान खसेर ल्हेन्दे उपत्यकामा पुगेपछि केही मिनेटमै पानी, हिलो र ठूला ढुङ्गासहितको बाढी रसुवागढी, टिमुरे, स्याफ्रुबेंसी हुँदै त्रिशूली नदी क्षेत्रमा फैलिएको उल्लेख छ । वर्षा र पूर्वचेतावनीबिनै आएको बाढीले स्थानीय बस्ती, पूर्वाधार, विद्यालय, पुल तथा जनजीवनमा ठूलो प्रभाव पारेको पुस्तकमा उल्लेख गरिएको छ ।
‘न्यारेटिभ नन–फिक्सन’ विधामा तयार गरिएको पुस्तकले विपद्का क्रममा कसले दौडेर उद्धार गर्यो, को प्रतीक्षामा रह्यो, कसले खोजी तथा सहयोग गर्यो र आगामी दिनमा यस्ता विपद्बाट बच्न के परिवर्तन आवश्यक छ भन्ने विषयलाई पीडितका अनुभव, प्रत्यक्षदर्शीका भनाइ, अभिलेख र वैज्ञानिक अध्ययनका आधारमा प्रस्तुत गरेको छ ।
पुस्तकको महत्वपूर्ण हिस्सामा तरङ्ग नेपालले बाढी प्रभावित समुदायमा सञ्चालन गरेको राहत, पुनर्स्थापना तथा सामुदायिक सहयोगका गतिविधि समेटिएका छन् ।
पीस विन्ड्स जापान (Peace Winds Japan) र मर्सी मलेसिया (MERCY Malaysia) को सहयोगमा तरङ्ग नेपालले प्रभावित क्षेत्रमा प्राविधिक टोली परिचालन गरी क्षतिको मूल्याङ्कन, प्रभावित परिवारको आवश्यकता पहिचान तथा राहत वितरण गरेको पुस्तकमा उल्लेख छ ।
पुस्तकमा प्रस्तुत विवरणअनुसार संस्थाले विभिन्न कार्यक्रममार्फत एक हजार ४४८ घरपरिवारसम्म राहत तथा सहयोग पुर्याएको छ । त्यस्तै, ३०६ शिक्षक तथा विद्यार्थी, दुई स्वास्थ्य संस्था र एउटा वडा कार्यालयलाई समेत सहयोग गरिएको बिषय पुस्तकमा समेटिएको छ।
राहत वितरणअन्तर्गत रसुवाको उत्तरगया गाउँपालिका–५ का ५०१ घरपरिवारलाई जाडोयामका लागि आवश्यक सामग्री वितरण गरिएको छ । यसमा विद्युतीय हिटर, इलेक्ट्रिक केतली र थर्मसका बोतल समावेश छन् ।
नुवाकोटको विदुर नगरपालिका–१ का १९५, वडा नं. ७ का ५० तथा वडा नं. १० का २५२ घरपरिवारलाई घरायसी तथा पुनर्निर्माणका लागि आवश्यक औजार वितरण गरिएको विवरण पुस्तकमा छ ।
त्यसैगरी, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ का ३५० घरपरिवारलाई इन्डक्सनसहितको भान्साका सामग्री तथा नुवाकोटको विदुर नगरपालिका–१० का १०० घरपरिवारलाई ग्यास सिलिन्डरसहित भान्साका सामग्री उपलब्ध गराइएको उल्लेख छ ।
बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक स्वास्थ्य सेवाको निरन्तरताका लागि नुवाकोटको विदुर नगरपालिका–५ स्थित आयुर्वेदिक अस्पताल र वडा नं. १० स्थित सहरी स्वास्थ्य केन्द्रलाई औषधिलगायत स्वास्थ्य सामग्री सहयोग गरिएको पुस्तकमा उल्लेख छ ।
त्यस्तै, विदुर नगरपालिका–१० को वडा कार्यालयमा सौर्य ऊर्जा तथा इन्भर्टर प्रणाली जडान गरी विद्युत् आपूर्तिको वैकल्पिक व्यवस्था गरिएको छ ।
नुवाकोटको विदुर नगरपालिका–२, बट्टारस्थित भीमसेन माध्यमिक विद्यालयका ३०६ शिक्षक तथा विद्यार्थीलाई समेत सहयोग गरिएको विवरण पुस्तकमा समेटिएको छ ।
पुस्तकले राहत वितरणलाई सामग्री हस्तान्तरणमा मात्र सीमित नराखी प्रभावित परिवारको आवश्यकता पहिचान, स्थलगत अध्ययन, स्थानीय तहसँगको समन्वय, सामग्रीको अभिलेखीकरण, वितरणको पारदर्शिता र समुदायको पुनर्स्थापनालाई प्राथमिकतामा राखेको देखाएको छ ।
पुस्तकको अर्को महत्वपूर्ण पक्ष विपद्पछिको पुनर्निर्माणसँगै भविष्यमा यस्ता घटना दोहोरिँदा हुन सक्ने क्षति न्यूनीकरणका उपायमा केन्द्रित छ।
यसमा नदीले बगाएर ल्याएको गेग्रान तथा ढुङ्गामाटोको पुनःप्रयोग, नदी किनारका भवनको सुरक्षा, भोटेकोशी–त्रिशूली करिडोरका लागि पूर्वचेतावनी प्रणाली र रसुवाको खाद्य सुरक्षाजस्ता विषयलाई आगामी दिनका प्राथमिकताका रूपमा प्रस्तुत गरिएको छ ।
विशेषगरी बाढी प्रभावित क्षेत्रमा एक मात्र भवन सुरक्षित रहनुको कारण, नदीको बहाव र गेग्रानको व्यवस्थापन तथा जोखिमयुक्त क्षेत्रमा पूर्वाधार निर्माण गर्दा अपनाउनुपर्ने सावधानीबारे पनि पुस्तकले प्रश्न उठाएको छ ।
पुस्तकमा पीडित तथा प्रभावित क्षेत्रका बासिन्दाका आवाजलाई प्राथमिकता दिइएको छ । लेखकका अनुसार प्रभावित क्षेत्रमै पुगेर प्रत्यक्ष अनुभव र घटनाक्रम संकलन गरी पुस्तक तयार गरिएको हो ।
डा. ईश्वर थापा र इन्जिनियर राजन थापाले लेखन तथा सम्पादन गर्नुभएको उक्त पुस्तकमा इन्जिनियर, अनुसन्धानकर्ता, प्राविधिक तथा अन्य विज्ञहरूको योगदान समेटिएको छ ।
बरिष्ठ भूगर्भविद् ई. सन्मुखेश चन्द्र अमात्यले पुस्तकको मूल सन्देश ‘विपद्को एउटा कथा, सहनशीलताको एउटा प्रमाण’ भन्ने भावमा केन्द्रित रहेको र यसले बाढीबाट भएको विनाशको विवरण मात्र प्रस्तुत नगरी विपद्का बेला समुदाय, स्वयंसेवक, प्राविधिक जनशक्ति, स्थानीय सरकार र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सहयोगी संस्थाबीचको सहकार्यले पुनःस्थापनामा पुर्याउन सक्ने योगदानलाई समेत उजागर गरेको छ भन्नुभयो।
‘द सनसाइन फ्लड’ रसुवा र त्रिशूली उपत्यकाका बासिन्दाका लागि समर्पित पुस्तक भएको भन्दै उहाँले यसबाट एउटा प्राकृतिक विपद्को इतिहास अभिलेखीकरण हुनुका साथै आगामी दिनमा जोखिम न्यूनीकरण, पूर्वतयारी र मानवीय सहायताका क्षेत्रमा काम गर्ने निकाय तथा सरोकारवालालाई महत्वपूर्ण सन्दर्भ सामग्री प्रदान गर्ने अपेक्षा गरिएको बताउनुभयो।
कार्यक्रममा तरङ्ग नेपालका कार्यकारी निर्देशक अमितप्रसाद तिमल्सेनाले ‘पर्दापछाडिका कुरा’ शीर्षकमा प्रस्तुति दिँदै विपपछिको स्थलगत अध्ययन, मानवीय सहायता तथा प्रभावित समुदायसँगको अन्तरक्रियाबाट पुस्तक तयार पार्न सहयोग पुगेको अनुभव साझा गर्नुभयो।
बाढीको खबर प्राप्त हुनासाथ तरङ्ग नेपालले प्रभावित क्षेत्रसँग सम्बन्धित स्थानीय सम्पर्क, जलविद्युत् आयोजनामा कार्यरत प्राविधिक तथा विभिन्न सरोकारवालासँग समन्वय सुरु गरेको थियो। उद्धार तथा खोजी कार्यमा प्रत्यक्ष रूपमा संलग्न हुन कठिन परिस्थिति रहेकाले संस्थाले राहत तथा पुनर्लाभका गतिविधिमार्फत योगदान गर्ने निर्णय गरेको थियो।
तरङ्ग नेपाल विपद् प्रतिकार्य, पुनर्लाभ तथा सामुदायिक उत्थानशीलताका क्षेत्रमा कार्यरत नेपाली संस्था हो। इन्जिनियरिङ, अनुसन्धान, सामाजिक सेवा तथा स्वयंसेवाका क्षेत्रमा कार्यरत जनशक्तिलाई एकीकृत गर्दै संस्थाले प्राविधिक ज्ञान, मानवीय सहायता र ज्ञान विकासमार्फत जोखिममा रहेका समुदायलाई सहयोग पुऱ्याउँदै आएको छ।
पुस्तकले बाढीबाट भएको भौतिक क्षतिको विवरणमा मात्र सीमित नभई हिमाली क्षेत्रमा हुने भूगर्भीय तथा वातावरणीय प्रक्रियाहरू, विपद्का बेला समुदायले भोगेका अनुभव, खोज तथा उद्धारका चुनौती, प्रभावित परिवारको पीडा र विपद् व्यवस्थापनमा विद्यमान नीतिगत तथा संस्थागत सवालहरूलाई समेत समेटेको छ।
छ वटा भागमा विभाजित ३१ अध्याय रहेको पुस्तकमा भोटेकोशी नदी करिडोरको विपपूर्व अवस्था, विपद्को दिनका घटनाक्रम, उद्धार तथा जीवनरक्षाका अनुभव, मानवीय क्षति तथा शोक, आर्थिक र वातावरणीय प्रभाव एवं भविष्यका लागि आवश्यक पाठहरू प्रस्तुत गरिएका छन्।
त्यसैगरी, हिमाली विपद्को जोखिम मूल्याङ्कन, पूर्वसूचना प्रणालीको सुदृढीकरण, बाढीबाट थुप्रिएको गेग्रानलाई पुनर्निर्माण सामग्रीका रूपमा उपयोग गर्ने सम्भावना, जलविद्युत् आयोजनाको सुरक्षा, तथा रसुवाको खाद्य सुरक्षामा जलवायुजन्य जोखिमजस्ता विषयलाई पनि अनुसन्धान र नीतिगत दृष्टिकोणबाट विश्लेषण गरिएको छ।
यस पुस्तकको महत्वपूर्ण विशेषता भनेको प्रभावित समुदायका अनुभव र वैज्ञानिक तथा दस्तावेजीकृत तथ्यलाई एकै ठाउँमा प्रस्तुत गर्नु हो। पुस्तकमा तथ्याङ्क तथा घटनासम्बन्धी विवरणका लागि आधिकारिक प्रतिवेदन, प्रकाशित अनुसन्धान तथा पत्रकारितामा आधारित सामग्री प्रयोग गरिएको छ। साथै, प्रमाणित तथ्य, व्यक्तिगत अनुभव, विश्लेषण तथा अझै स्पष्ट हुन नसकेका विषयहरूबीच स्पष्ट भिन्नता कायम गरिएको छ।
पुस्तकले माथिल्लो भोटेकोशी क्षेत्रमा पूर्वसूचना प्रणाली पुनःस्थापना तथा सुदृढीकरण, सीमापार सूचना आदानप्रदान, पुनर्निर्माणअघि जोखिम मूल्याङ्कन, जलविद्युत् पूर्वाधारको सुरक्षा तथा बेपत्ता व्यक्तिहरूको पहिचान प्रक्रियालाई तीव्रता दिनुपर्ने विषयमा समेत सुझाव प्रस्तुत गरेको छ।