”सरकारको ‘गरिबमारा’ नीतिले गणेश नेपालीको मृत्यु भयो”

काठमाडौ/ २७ असार, सरकारको ‘गरिबमारा’ नीतिको कारण गणेश नेपालीले आत्मदाह गरेको वक्ताहरुले आरोप लागाएका छन् । शनिबार राजधानीको संवाद डबलीमा भएको कार्यक्रममा उनीहरुले न्याय नपाए संघर्षलाई चर्काउने चेतावनी समेत दिएका छन् ।

संघीय सांसद पार्वती वि।क।ले वर्तमान सरकार गरिब जनतालाई उकास्ने भन्दा भौतिकरुपले कमजोर बनाउने रणनीतिको सिकार गणेश नेपाली भएको जिकिरगर्नुभयोे। वि।क।ले मृतकको विषयमा गृहमन्त्री सुदन गुरुङले संसदमा उभिएर झुट बोलेको बताउँदै भन्नुभयो,“‘आवश्यक परे भारत लगेर उपचार गराउँछु’ भनेर ‘स्टन्टबाजी’ गरेर वीर अस्पतालमा मर्न छाड्नुभयो ।”

सांसद विकले मृतक नेपालीलाई न्यायबाट बञ्चित गराउन राज्यले व्यक्तिगत आक्षेप लगाएर आत्महत्या पुष्टि गराउन खोजिएको आरोप लगाउनुभयोे । “गणेश नेपालीको कायर हैन, श्रमिक वर्गमाथि गरेको राज्यविरुद्धको सशक्त विद्रोह हो, दुईदिन अघि राइडरहरुले सरकालाई ज्ञापनपत्र दिएका रहेछन्, त्यसमा सरकार किन मौन ।” उहाँले भन्नुभयो, “अब पनि जनता चुप रहने हो र गणेश नेपालीहरुले न्याय पाएनन् भने आम श्रमिक तथा गरिखाने वर्गलाई यो देशमा बाँच्न गाह्रो हुनेछ”

सामाजिक अभियान्ता डा। निर्मल विश्वकर्माले गणेश नेपालीलाई राज्यले आत्मदाह गर्न बाध्य बनाएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । पूर्वराजदूत समेत रहेका विश्वकर्माले गणेशको आत्मदाहको मुख्य कारण ‘अव्यावहारिक ट्राफिक जरिवाना’ रहेको दाबी गर्दै त्यसलाई खारेजी र जनमैत्री प्रणाली लागु गर्न माग गरेका छन्। उहाँले पीँदमा रहेका उत्पीडित तथा गरिब जनतालाई माथि उठाउने भन्दा सरकार उनीहरुलाई नै भौतिकरुपले सिध्याउने दिशातिर अघि बढेको आरोप लगाउनुभयो।

दलित अधिकारकर्मी केशव नेपालीले गणेशको मृत्युले वर्तमान सरकार धनीहरुको मात्रै भएको प्रष्ट भएको बताउनुभयो । गणेश नेपाली जस्ता गरिखाने जनतालाई बाँच्न पाउने अधिकारबाट नीतिगतरुपमै च्युत गरिरहेको भन्दै सरकारको आलोचना गर्नुभयो ।
“सरकार धनाड्य र रहिसहरुको हो थाहा भइसक्यो, थानकोट चेकपोष्टमा ‘लाइसिन्स’ र ‘ब्लुबुक’ चेक गर्नुभन्दा ‘लालपूर्ज’ चेक गर्नुपरो, राजधानीमा लालपूर्जा भएकालाई मात्रै काठमाडौं छिराउने नियम बनाउ बालेन सरकार” नेपालीले भन्नुभयो ।

जेनजी युनाइटेडका संयोजक जनक परियारले गणेश नेपालीकोको आत्मदाह गरिब तथा श्रमीक वर्गको अधिकारको लागि ‘बालेन सरकार’ विरुद्धको पहिलो सहादत भएको जिकिर गर्नुभयो। परियारले घटनाको निष्पक्ष छानविन र आत्मदाह गर्न बाध्य पार्ने दोषीहरूमाथि कडा कानुनी कारवाही हुनुपर्ने माग गर्नुभयो । “यो केवल एउटा आत्महत्या नभएर राज्य संयन्त्रको दबाब र अत्याचारका कारण घटेको ‘संरचनात्मक हत्या’ हो” परियारले भन्नुभयो ।

राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विकले पीडित परिवारलाई तत्काल उचित क्षतिपूर्ति र राहत दिनुपर्ने माग गर्नुभयो। “राज्यको चरम उदासीनता र परिस्थितिका कारण नागरिकले आत्मदाह गर्नुपर्ने स्थिति आउनु राज्यकै कमजोरी हो । त्यसैले, मृतकका आश्रित परिवारको तत्कालको गर्जो टार्न र न्यायको अनुभूति गराउन सरकारले अविलम्ब एकमुष्ट उचित आर्थिक क्षतिपूर्ति उपलब्ध गरियोस्” विकले भन्नुभयो।

श्रमसंस्कृति पार्टीका युवा नेता निर्मल परियारले पीडित परिवारको वर्तमान सरकार एकपछि अर्को गर्दै जनतामाथि नीतिगतरुपमै अत्याचार थोपर्ने दिशातिर जाँदाको परिणाम गणेशको आत्मदाह भएको बताउनुभयो ।
परियारले गणेशका परिवारको मुख्य आयआर्जन गर्ने व्यक्तिको गुमाउँदा उत्पन्न हुने रिक्ततालाई कम गर्न राज्यले मृतकका बालबाच्चाहरूलाई शिक्षा र स्वास्थ्य निःशुल्क व्यवस्था गर्नुपर्नेमाग गर्नुभयो ।

दलित अभियान्ता सन्तोस आहुजीले पुराना दलहरुले बेथिति र भ्रष्टाचार गरेको भनेर आएको बालने सरकारले पुरानाभन्दा बढी अत्याचार गरेको आरोप लगाउनुभयो ।

अर्का अभियान्ता जनक अहुजीले देश र जनताको अभिभावक बन्नुपर्ने सरकार विदेशीको योजनामा जनतालाई पेल्न लागेको आरोप लगाउनुभयो । उहाँले गणेश नेपालीको आत्मदाह एउटा हृदयविदारक र गम्भीर घटना भएको बताउनुभयो। उहाँले न्याय नपाउँदसम्म संघर्ष जारी राख्नुपर्ने सबैमा अपिल गर्नुभयो ।

More From Author

२१ वर्षीया छोरीले कलेजो दान गरेपछि जयन्ती थापाले पाइन् नयाँ जीवन

ग्वार्खो–लाकुरीभञ्ज्याङ–दाहालटार सडक र जनअधिकारबीचको सन्तुलनको प्रश्न

Leave a Reply

Your email address will not be published. Required fields are marked *