ललितपुर, २७ जेठ: कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संगम रहेको ओरा ब्रान्डको कस्मेटिक्स उत्पादनहरु सार्वजनिक गरेको छ।
एन के कस्मेटिक्सले मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार ओरा ब्रान्डले नेपालको सौन्दर्य उद्योगमा नयाँ सम्भावना सिर्जना गर्दै कोरियन विज्ञान, अनुसन्धान, प्रविधि तथा उच्च गुणस्तरीय कच्चा पदार्थलाई नेपाली माटोमा उत्पादन संयोजन गरी नेपालमै विश्वस्तरीय स्किन केयर उत्पादन गरिरहेको छ।
नेपाली उपभोक्तालाई अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय उत्पादन सुपथ मूल्यमा उपलब्ध गराउने उद्देश्य राखेको कम्पनीले नेपाली रु. ३५ करोडको लगानीमा ईमाडोल, ललितपुरमा उद्योग स्थापना गरेको कम्पनीका अध्यक्ष विनोद कुँवरले जानकारी दिनुभयो।
“कम्पनीले ९ वटा प्रमुख उत्पादनहरू बजारमा उपलब्ध गराइरहेको छ भने निकट भविष्यमा थप १० देखि १५ वटा नयाँ उत्पादनहरू सार्वजनिक गर्ने तयारी गरिरहेको छ, कम्पनीको उत्पादन क्षमता विस्तारसँगै आफ्नै उद्योगबाट १०० भन्दा बढी विभिन्न प्रकारका कस्मेटिक्स, स्किन केयर तथा व्यक्तिगत सौन्दर्यका सामग्रीहरू उत्पादन गर्न सकिने क्षमता रहेको छ, विश्वका धेरै कम्पनी कोरियामा रहेको छ, कोरियाले धेरै ज्ञान हासिल गरेको छ, कोरियाबाट फर्किएर ओरा ब्रान्ड स्थापित गर्दै नेपाल र दक्षिण एशियाली देशहरुको स्किनलाई सुरक्षित बनाउनका लागि महत्त्वपूर्ण हुन सक्ने हाम्रो विस्वास छ।” अध्यक्ष कुँवरले भन्नुभयो।
नेपाली तथा कोरियन उद्यमीहरूको संयुक्त सहकार्यमा भएको ओरा ब्रान्डको कस्मेटिक्स उत्पादन गर्ने कम्पनीको नेतृत्व गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष विनोद कुँवरले गरिरहनुभएको छ भने कोरियन स्किन केयर उद्योगमा लामो अनुभव हासिल गर्नुभएका तथा ‘के व्युटी’ क्षेत्रका विज्ञ जेई हो हुरले प्राविधिक ज्ञान, अनुभव र उत्पादन विकासमा महत्वपूर्ण योगदान पुर्याइरहनुभएको जानकारी दिइएको छ।
दीर्घकालीन लक्ष्य नेपाललाई गुणस्तरीय कस्मेटिक्स तथा स्किन केयर उत्पादनको केन्द्रका रूपमा विकास गर्नु रहेको कम्पनीका अध्यक्ष कुँवरले जानकारी दिनुभयो। ओरा ब्रान्डलाई दक्षिण एशियाबाट विश्व बजारसम्म पुर्याउने र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने नेपाली ब्रान्डका रूपमा स्थापित गर्ने लक्ष्य कम्पनीले राखेको उहाँले बताउनुभयो।
कम्पनीमा व्यवस्थापन, उत्पादन, मार्केटिङ तथा बिक्री विभागमा प्रत्यक्ष रूपमा २५ जना नेपाली कर्मचारीहरू कार्यरत छन्। औद्योगिक विकासले मात्र दीर्घकालीन आर्थिक समृद्धि सम्भव हुन्छ भन्ने कम्पनीको विश्वास रहेको जानकारी दिइएको छ। ओरा ब्रान्डले रोजगारी सिर्जना, सीप विकास, सरकारी राजस्व वृद्धि, जिडिपीमा योगदान तथा भविष्यमा निर्यात प्रवर्द्धनमार्फत नेपालको अर्थतन्त्रलाई सुदृढ बनाउने प्रतिबद्धता जनाएको अध्यक्ष कुँवरले जानकारी दिनुभयो।
उत्पादनहरू आधिकारिक रूपमा बजारमा आएको यस अवधिमा नेपालभरका अधिकृत वितरक, होलसेल नेटवर्क, खुद्रा पसलहरू तथा विभिन्न अनलाइन प्लेटफर्महरू मार्फत सहज रूपमा उपलब्ध छन्। यस अवधिमा दशौं लाख प्रयोगकर्ताहरूसम्म पुगेकोमा कम्पनी उत्साहित हुँदै उपभोक्ताहरूले गुणस्तर, प्रभावकारिता तथा मूल्यको सन्तुलनप्रति देखाएको विश्वासले कम्पनीलाई थप उत्साहित बनाएको जानकारी दिइएको छ।
ओराको ब्रान्ड एम्मेस्डर परीक्षा लिम्बूले उत्पादनको बारेमा जानेर, बुझेर नै उपभोक्ताले उपयोग गर्ने बताउँदै यी स्किन केयरहरु अत्यन्तै सुन्दर संयोजन भएर बनाइएको उत्पादनहरु भएको जानकारी दिनुभयो। उहाँका अनुसार नेपाली उत्पादन र पहिचान बोकेको उत्पादन सबैका लागि उपयोगी र पहुँचयुक्त छ।
एन के कस्मेटिक्सका व्यवस्थापक गंगा खतिवडाले कोरियन प्रविधिमा उत्पादित नेपाली गुणस्तरको कस्मेटिक्सहरु नेपाली उपभोक्ताको पहुँचभित्र ल्याउन चाहेको बताउँदै हाल ९ वटा उत्पादनहरु सार्वजनिक भएको र अध्ययन अनुसन्धान गरेर अरु थप उत्पादनहरु ल्याउने जानकारी गराउनुभयो।
उहाँले कस्मेटिक्सलाई ब्रान्ड बनाउन सफल भएकोमा खुसी व्यक्त गर्नुभयो। गुणस्तरीय स्किन केयर सर्वसाधारणले पनि उपयोग गर्न सकुन भनेर ध्यान दिइएको जानकारी गराउँदै उहाँले उपभोक्ताहरुको पहुँचलाई ध्यान दिएर सहुलियत मुल्यमा उपलब्ध गराउने काम गरिएको बताउनुभयो।