ललितपुर, १४ असार : इन्डो नेपाल कराते प्रतियोगिताका विजेता आइकेओ क्योकुशिनकाई कराते डोजो नखिपोटका १३ खेलाडी सम्मानित भएका छन्।
आई. के. ओ. क्योकुसिनकाई डोजो नखिपोटले आज आइतबार यहाँ कार्यक्रम आयोजना गरी विजेता खेलाडीलाई सम्मान गरेको हो।
यहीँ जुन १३ र १४ तारिखमा भारतकाे उत्तर बंगालकाे मैनागुरीमा भएको इन्डाे नेपाल आशिहारा कराते प्रतियोगितामा नेपालले १० स्वर्ण सहित २ रजत १ काश्य पदक प्राप्त गर्न सफल भएको थियो ।
खेलाडीहरुलाई सम्मान पश्चात् मन्तव्य राख्नुहुँदै ललितपुर महानगरपालिका वडा नं. १४ का अध्यक्ष अमृतजंग महतले अन्तर्राष्ट्रिय प्रतियोगिता प्रतिस्पर्धा गरेर जीत हासिल गर्न सकेकोमा बधाई गर्दै आत्मअनुशासन र प्रतिस्पर्धाको माध्यमबाट अगाडि बढ्न सकेकोमा खुसी व्यक्त गर्नुभयो। उहाँले खेलको माध्यमबाट राष्ट्रलाई चिनाउन आग्रह गर्दै अझै थप प्रतिस्पर्धामा भाग लिएर सफलता हासिल गर्न आग्रह गर्नुभयो। उहाँले त्याग, मेहनत र समर्पणले दैनिक जीवन समेत सफल बनाउन आग्रह गर्दै सफलताको लागि डोजो व्यवस्थापन र प्रशिक्षकको महत्त्वपूर्ण भूमिका रहेको धारणा राख्नुभयो।
आईकेओ क्योकुशिनकाई कराते नेपालका ब्राञ्च चिफ सेन्सेई दिपक लामाले दैनिक अभ्यासले जस्तोसुकै खेल प्रतिस्पर्धामा पनि सफलता लिन सकिने भन्दै सफल खेलाडी हुने संकल्प सहित अगाडी बढ्न आग्रह गर्नुभयो।
डोजोका प्रमुख प्रशिक्षक सेन्सेई समिर श्रेष्ठले खेल र खेलाडीहरुको पहिचान र सम्मान कायम राख्न सफल भएकोमा बधाई व्यक्त गर्दै प्रशिक्षकहरुले बाटो मात्रै देखाउने भएकोले जीत हासिलका लागि खेलाडीले उत्कृष्ट खेल प्रदर्शन गर्न सक्नुपर्नेमा जोड दिनुभयो।
क्योकुशिन प्रतियोगितामा नेपाली खेलाडीहरुको प्रदर्शन उत्कृष्ट रहेकोले धेरै प्रतियोगितामा भाग लिन आग्रहका साथ निमन्त्रणा आएको जानकारी गराउँदै प्रमुख प्रशिक्षक श्रेष्ठले भारतको पाँच वटा प्रदेशका ३ सय ५० भन्दा बढि खेलाडीहरुलाई जित्न सक्नु महत्त्वपूर्ण उपलब्धि भएको धारणा राख्नुभयो।
इन्डाे नेपाल आशिहारा कराते च्याम्पियनसिपमा आई. के. ओ. क्योकुसिनकाई नेपालका १३ जना खेलाडीहरुले प्रतियोगितामा भाग लिएको नेपालका तर्फबाट प्रतिनिधित्व गर्ने मुख्य रेफ्री समिर श्रेष्ठले जानकारी गराउनुभयो ।
आई. के. ओ. क्योकुसिनकाई नेपालका ब्रन्च चिफ दिपक लामाका अनुसार उक्त प्रतियोगितामा पुरुषतर्फ नेपाली खेलाडीहरु खुला केजी तौल समूहमा साहिर श्रेष्ठ, ६५ केजी तौल समूहमा सोनाम मोक्तान, ५५ केजी तौल समूहमा रेशाङ सुनुवार, ५० के.जी तौल समूहमा निलष्ट देव रेग्मी, ४५ के.जी तौल समूहमा शेसेहाङ यौंग्य लिम्बु र ३५ के.जी तौल समूहमा तिर्थमान जिम्माले स्वर्ण पदक हासिल गर्न सफल भएका हुन् ।
त्यस्तै महिलातर्फ ५० के.जी. तौल समूहमा विनिशा राई, ४५ के.जी तौल समूहमा अञ्जु श्रेष्ठ, ४० के.जी तौल समूहमा आसिया श्रेष्ठ र ३५ के.जी तौल समूहमा उषा रानामगरले स्वर्ण पदक हासिल गरेका हुन् ।
३५ केजी तौल समूहमा बुधेश तामाङ र सुरन तामाङले रजत पदक हात पार्दा ४० के.जी तौल समूहका नियोग मगरले काश्य पदक प्राप्त गर्न सफल भएका थिए।