चितवन, १७ असार: भरतपुर महानगरपालिका–१८, गुञ्जनगरस्थित ग्रीन पार्कमा पतञ्जली योग समितिद्वारा सञ्चालित सह-शिक्षक तालिमको दीक्षान्त समारोह सम्पन्न भएको छ। जेठ ५ गतेदेखि सञ्चालन भएको तालिम असार १५ गते सफलतापूर्वक सम्पन्न भएपछि असार १६ गते मंगलबार ८२ जना प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण गरिएको हो।
पतञ्जली योग समिति चितवनका अध्यक्ष बलराम थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–१८ का वडाध्यक्ष बाबुराम राना प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो। कार्यक्रममा बागमती प्रदेश प्रमुखको हातबाट ८२ जना परीक्षार्थीलाई प्रमाणपत्र प्रदान गरिएको थियो।
दीक्षान्त समारोहसँगै प्रशिक्षार्थीहरूलाई देवयज्ञमा समावेश गराइएको थियो। देवयज्ञ पतञ्जली योग समिति बागमती प्रदेशकी महामन्त्री सुधा कोलौनीको नेतृत्वमा सम्पन्न भएको थियो।
कार्यक्रमका अवसरमा वडाध्यक्ष बाबुराम रानालाई पतञ्जली योग समिति चितवनको जिल्ला सल्लाहकारमा मनोनयन गरिएको घोषणा गर्दै गुञ्जनगर साधना केन्द्रका दयानिधि अर्याललाई साधना केन्द्रको संयोजक घोषणा गरिएको थियो।
दैनिक योग अभ्यासमा नियमित सहभागी भई प्रेरणादायी योगदान पुर्याएका ८६ वर्षीय नारायणदत्त ढकाल, ८३ वर्षीया विष्णुमाया अर्याल, ७ वर्षीया प्रिन्सा राना मगर तथा ८ वर्षीया अर्पिता सुवेदीलाई सम्मान गरिएको थियो।
कार्यक्रम सफल बनाउन योगदान पुर्याउने साधना केन्द्रका संयोजक दयानिधि अर्याल, हेमचन्द्र लामिछाने, राधा भट्टराई, हरिराज अर्याल, चूडामणि पौडेल, थानेश्वर लामिछाने, भागीरथी पण्डितलगायतलाई पतञ्जली सम्मान गरिएको थियो।