काठमाडौं/ ७ साउन, पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले संयुक्त राष्ट्रसंघीय बसोबास (युएन हेबिट्याट) सम्बन्धी कार्यक्रममा मन्त्रालयका सचिव गोपाल सिग्देललाई नपठाई आफ्नै सचिवालयका सचिव सन्तोष पाण्डेलाई अमेरिका पठाएको विषय सार्वजनिक भएको छ।
असार ३१ देखि साउन २ गतेसम्म ९जुलाई १५–१८० न्युयोर्कमा आयोजित कार्यक्रममा पाण्डे सहभागी भएर फर्किसकेका छन्। सबैका लागि आवास र पर्याप्त आवासका विषयमा केन्द्रित उक्त कार्यक्रममा यसअघि सहरी विकासमन्त्री र मन्त्रालयका सचिव सहभागी हुने अभ्यास रहेको बताइएको छ।
यसअघि तत्कालीन सहरी विकासमन्त्री प्रकाशमान सिंह र मन्त्रालयका सचिव मणिराम गेलाल इजिप्टमा आयोजित वर्ल्ड अर्बान फोरममा सहभागी भएका थिए। त्यस्तै, पूर्वमन्त्री सीता गुरुङ, तत्कालीन सचिव रवीन्द्रनाथ श्रेष्ठ तथा पूर्वसचिव डा। रमेशसिंह पनि यस्तै कार्यक्रममा सहभागी भइसकेका थिए।
मन्त्रीको सचिवालयका सचिवलाई मन्त्रालयका सचिवको सट्टा कार्यक्रममा पठाइएपछि मन्त्रालयभित्र असन्तुष्टि बढेको बताइएको छ। मन्त्रालयका एक कर्मचारीले यस्ता अन्तर्राष्ट्रिय कार्यक्रममा मन्त्रालयका उच्च कर्मचारी सहभागी हुँदा प्राप्त अनुभव र ज्ञान नीतिगत तथा प्रशासनिक कार्यान्वयनमा उपयोगी हुने भएकाले सचिवलाई पठाएको भए उपयुक्त हुने धारणा व्यक्त गरेका छन्।
यता, सचिवालयका सचिव सन्तोष पाण्डेले भने आफू मन्त्री सुनिल लम्सालको सिफारिसमा अमेरिकास्थित कार्यक्रममा गएको बताएका छन्। मन्त्री कार्यव्यस्तताका कारण स्वयं उपस्थित हुन नसकेपछि आफ्नो नाम सिफारिस गरिएको उनको भनाइ छ।
पाण्डे असार दोस्रो सातामात्र मन्त्रीको सचिवालयमा सचिवसरहको पदमा नियुक्त भएका हुन्। मन्त्रिपरिषद्ले हालै पारित गरेको ‘मन्त्रीहरूको सल्लाहकार तथा सचिवालय व्यवस्थापन कार्यविधि–२०८३’ अनुसार मन्त्रीहरूले आफ्नो सचिवालयमा विशिष्ट श्रेणी ९सचिव० सरहका सल्लाहकार नियुक्त गर्न सक्ने व्यवस्था गरिएको छ।