काठमाडौं, १२ साउन, नेपाली कांग्रेसको संस्थापन इतर समूहले साउन २९ मा निर्धारित राष्ट्रिय भेलाका लागि भ्रातृ तथा शुभेच्छुक संस्थाहरूको समन्वयका लागि नेताहरूलाई जिम्मेवारी बाँडफाँट गरेको छ।
सोमबार दिँउसो चुनदेवीस्थित सम्पर्क कार्यालयमा बसेको इतर पक्षका शीर्ष नेताहरूको बैठकले राष्ट्रिय भेलाका लागि १० जना नेतालाई विभिन्न क्षेत्र परिचालनको जिम्मेवारी दिइएको हो।
बैठकले राष्ट्रिय भेलाको प्रचारप्रसार समिति संयोजकको जिम्मेवारी मीन विश्वकर्मालाई दिएको छ। साथै विश्वकर्माले बुद्धिजीवी परिचालनको जिम्मा पनि लिनुभएको छ।
नेपाल विद्यार्थी संघ ९नेविसंघ० परिचालनका लागि कुन्दनराज काफ्ले, नेपाल तरुण दल परिचालनका लागि जीतजंग बस्नेत र नेपाल महिला संघ परिचालनका लागि उषा राउत मिश्रलाई जिम्मेवारी दिइएको विश्वकर्माले बताउनुभयो।
उहाँका अनुसार नेपाल दलित संघ परिचालनको जिम्मा यमुना विश्वकर्माले, नेपाल किसान संघ परिचालनको जिम्मा अध्यक्ष गणेश तिमिल्सिनाले र लोकतान्त्रिक आदिवासी जनजाति परिचालनको जिम्मा जगत बरामले पाउनुभएको छ।
नेता मोहनबहादुर बस्नेतलाई काठमाडौँ जिल्ला सम्पर्क समिति तथा खेलकुद समन्वयन, किरण पौडेललाई विदेश जनसम्पर्क समिति र हरिशरण नेपालीलाई ट्रेड युनियन परिचालनका लागि जिम्मेवारी दिइएको मीन विश्वकर्माको भनाइ छ।
आवश्यकताअनुसार समिति बनाएर अन्य भ्रातृ र शुभेच्छुक संस्थाहरूलाई पनि परिचालन गरिने उहाँको भनाइ छ। इतर समूहले राष्ट्रिय भेलाको तयारीका लागि १६५ वटै निर्वाचन क्षेत्रहरूमा केन्द्रीय प्रतिनिधिहरू खटाउने भएको छ।
१६५ निर्वाचन क्षेत्रमै १६ साउनसम्म केन्द्रीय प्रतिनिधिहरू खटाइसक्ने विश्वकर्माले बताउनुभयो। संस्थापन पक्षसँग सहमतिका लागि संवाद हुँदा पनि अब राष्ट्रिय भेला नरोकिने उहाँको भनाइ छ। ‘सहमति भए राष्ट्रिय भेला एकता भेलामा रूपान्तरण हुन्छ। भएन भने नयाँ दिशा तय गर्छ,’ उहाँले भन्नुभयो।