आज संयुक्त राष्ट्रसंघ दिवस र विश्व विकास सूचना दिवस मनाइँदै

ललितपुर, ७  कात्तिक, विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र विकासका लागि सूचनाको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आज अक्टोबर २४ अर्थात् संयुक्त राष्ट्रसंघ दिवस र विश्व विकास सूचना दिवस मनाइँदैछ।
संयुक्त राष्ट्रसंघ स्थापना भएको दिनको स्मरणमा हरेक वर्ष अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघ दिवस मनाइन्छ। सन् १९४५ अक्टोबर २४ मा संयुक्त राष्ट्रसंघको बडापत्र लागू भएपछि औपचारिक रूपमा संयुक्त राष्ट्रसंघ स्थापना भएको थियो। सन् १९४८ देखि यो दिवस मनाउन थालिएको हो।
संयुक्त राष्ट्रसंघले विश्वमा शान्ति तथा सुरक्षा कायम गर्ने, मानवअधिकारको संरक्षण गर्ने, अन्तर्राष्ट्रिय कानुनको सम्मान बढाउने र दिगो विकासका लक्ष्य हासिल गर्न सदस्य राष्ट्रबीच सहकार्य प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ। विश्वका विभिन्न द्वन्द्व, मानवीय सङ्कट, गरिबी, असमानता र जलवायु परिवर्तनजस्ता चुनौती समाधानमा अन्तर्राष्ट्रिय सहकार्यको आवश्यकतालाई यस दिवसले स्मरण गराउँछ।
संयुक्त राष्ट्रसंघ नेपालले संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा सन्देश सार्वजनिक गर्दै खाद्य, स्वास्थ्य, शिक्षा, मानवअधिकार र जलवायुसम्बन्धी आवश्यकताहरू कुनै एउटा निकायको कार्यक्षेत्रमा मात्र सीमित नहुने उल्लेख गर्दै विपद्को समयमा समन्वय र संयुक्त  प्रयास आवश्यक हुने जनाएको छ।
संयुक्त राष्ट्रसंघका विभिन्न निकायले आ–आफ्नो विशेषज्ञता र कार्यादेशअनुसार काम गर्दै साझा लक्ष्यका लागि सहकार्य गर्नुपर्ने सन्देशमा जोड दिइएको छ। विपद् प्रभावित समुदायलाई राहत उपलब्ध गराउनेदेखि पुनःस्थापनाको योजना बनाउनसम्म विभिन्न क्षेत्रका निकायबीच समन्वय आवश्यक हुने नेपालस्थित संयुक्त राष्ट्रसंघीय कार्यालयको भनाइ छ।
संयुक्त राष्ट्रसंघ दिवसका अवसरमा सार्वजनिक गरिएको सन्देशमा यस किसिमको संयुक्त प्रयासलाई ‘वन यूएन’ अर्थात् ‘एक संयुक्त राष्ट्रसंघ’ को अवधारणाका रूपमा प्रस्तुत गरिएको छ।
संयुक्त राष्ट्रसंघले विश्वभर शान्ति, विकास, मानवअधिकार र मानवीय सहायताका क्षेत्रमा सदस्य राष्ट्र तथा साझेदार संस्थासँग सहकार्य गर्दै आएको छ। नेपालमा पनि विपद् व्यवस्थापन, खाद्य सुरक्षा, स्वास्थ्य सेवा, शिक्षा र जीविकोपार्जन पुनःस्थापनालगायतका क्षेत्रमा सरकारसँग सहकार्य गर्दै आएको छ।
नेपाल सन् १९५५ डिसेम्बर १४ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो। त्यसयता नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापना, विकास सहयोग तथा बहुपक्षीय कूटनीतिमा सहभागिता जनाउँदै आएको छ।
त्यस्तै, संयुक्त राष्ट्रसंघको महासभाले सन् १९७२ मा स्थापना गरेको विश्व विकास सूचना दिवस पनि हरेक वर्ष अक्टोबर २४ मा मनाइन्छ। विकासका समस्या र चुनौतीबारे विश्व समुदायको ध्यानाकर्षण गराउनु तथा तिनको समाधानका लागि अन्तर्राष्ट्रिय सहकार्य अभिवृद्धि गर्नु यस दिवसको मुख्य उद्देश्य हो।
विकासका सवालमा सूचना तथा सञ्चार प्रविधिको प्रभावकारी प्रयोग, तथ्यमा आधारित निर्णय, ज्ञानको आदानप्रदान र आम नागरिकको सूचनामा पहुँचलाई यस दिवसले विशेष महत्त्व दिन्छ। सही र विश्वसनीय सूचना उपलब्ध हुँदा नागरिकले विकासका अवसर, चुनौती तथा सरकारी नीति र कार्यक्रमबारे जानकारी प्राप्त गर्न सक्छन्।
सूचनाको हकका लागि राष्ट्रिय महासंघका अध्यक्ष उमीदप्रसाद बागचनदका अनुसार सूचनाको हक नागरिकका लागि महत्वपूर्ण कानून हुँदापनि यसको व्यवहारिक रुपमा कार्यान्वयन हुन नसकिरहेको अवस्थालाई चिर्न सबै सरोकारवालाहरु सशक्त भएर लाग्नुपर्ने आवश्यकता रहेको छ।  यो दिवसको अवसरमा प्रतिक्रिया दिनुहुँदै उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयनका लागि पत्रकार, नागरिक समाज, सरकारी निकाय, राष्ट्रिय सूचना आयोग र सूचनाको हकको अभियानमा क्रियाशिल व्यक्ति, संघसंस्था र सरोकारवालाहरुबीच सहकार्य हुन आवश्यक छ भन्नुभयो।
सूचना प्रविधिको तीव्र विकाससँगै डिजिटल विभाजन, गलत सूचना, भ्रामक समाचार र सूचनामा असमान पहुँचजस्ता चुनौती पनि बढिरहेका छन्। यस्तो अवस्थामा विश्वसनीय सूचना प्रवाह, डिजिटल साक्षरता र सञ्चारमाध्यमको जिम्मेवार भूमिकाले विकास प्रक्रियालाई प्रभावकारी बनाउन महत्त्वपूर्ण योगदान पुर्‍याउन सक्छ।
संयुक्त राष्ट्रसंघ दिवस र विश्व विकास सूचना दिवसले विश्व शान्ति, मानवअधिकार, समावेशी विकास र सूचनामा नागरिकको पहुँच सुनिश्चित गर्न सबै राष्ट्र, संस्था तथा नागरिकलाई साझा जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्ने अपेक्षा गरिएको छ।

More From Author

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा भक्तपुर–२ बाट कपिल कार्कीको उम्मेदवारी

गाभीबाट सन् २०३० सम्म नेपाललाई ८ अर्ब ५९ करोडको खोप सहायता

Leave a Reply

Your email address will not be published. Required fields are marked *