काठमाडौं/ २६ जेठ, परियार मात्रै नभएर ६० लाख दलित एक भएर जातिय विभेदविरुद्ध लड्नुपर्ने अवस्था आएको वक्ताहरुले बताएका छन् । मंगलबार राजधानीको संवाद डबलीमा ‘परियार सेवा समाज’को ३१ औं स्थापना दिवसको अवसरमा समाजले गरेको कार्यक्रममा वक्ताहरुले विसे नगर्चि सबैको प्रेरक भएको बताएका हुन् ।
पूर्व राजदूत पदम सुन्दासले देशमा पछिल्लो समय बढ्दै गएको जातिय विभेद तथा दलितमाथिको अत्याचार विरुद्ध देशभरीका दलितहरु एकजुट हुन आह्वान गर्नुभयो ।
परियार सेवा समाजका अध्यक्ष बल बहादुर सुन्दासले देशभरी ठूलो उपस्थिति रहेको दलित समुदाय एक नहुँदा उनिहरुमाथि दमन बढेको बताउनुभयो। उहाँले परियार समाज मात्रै नभएर ६० लाख दलित एक भएर प्रतिवादमा उत्रनुपर्नेमा जोड दिनुभयो ।
संविधान सभा सदस्य सुजाता परियारले लामो संघर्षपछि संविधानमार्फत दलितका हकअधिकार लिपिबद्ध गरिए पनि अझै लागु हुननसकेको भन्दै दुःख व्यक्त गर्नुभयो।
डा. मित्र परियारले देशमा एकपछि अर्को गर्दै दलित समुदायमाथि दमन बढ्न थालेकोले त्यस विषयमा गम्भीर समिक्षा गरेर सशक्त आन्दोलनको तयारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले केही महिनाभित्रमा देशभर दलित युवा युवतिहरु कथित उपल्लो जातिय सोचको सिकार भएको तर दलितहरु मौन भएकोप्रति आक्रोश व्यक्त गर्नुभयो । “हालै जनकपरियार बोलेकै भरमा हप्ता दिन हिरासत बस्नुभयो, सिन्धुलीका श्रीकृष्ण विकको न्याय घाममा सुख्यो, दिपा नेपाली विभेदविरुद्ध सडकमा छन्, अनि खगेन्द्र सुनारहरु मौन बस्नु भाछ, हामी विभक्त छौं” परियारले भन्नुभयो।
पूर्व सांसद लक्ष्मी परियारले समाजलाई थप सशक्त भएर दलितका मुद्धाहरुलाई बुलन्द बनाउन होस्टेमा हैंसे गर्न तयार रहेको बताउनुभयो ।
विसे नगर्चि एकताको प्रतिक नेपालका अध्यक्ष राम कुमार रणपालले विसे नगर्चि सम्पूर्ण दलितहरुको प्रेरक भएकोले उहाँको सालिकहरु बनाउने क्रम जारिरहेको बताउनुभयो।
जेनजी यूनाइटेडका संयोजक जनक परियारले दलित समुदायका युवायुवतीहरुमाथि दमन बढेकाले अफूहरु थप सशक्त भएर अगडि बढ्नुपर्नेमा जोड दिनुभयो ।
अधिवक्ता सितारमा घलेले संविधानले दलित तथा उत्पीडित समुदायको हकअधिकार सुनिश्चित गरेपनि समाजको चेतना स्तरमा परिवर्तन नहुँदा उनीहरु अझै पीडामा ज्युन बाध्य भएको बताउनुभयो।
वरिष्ठ उपाध्यक्ष कृष्ण रणपालले ३१ वर्षसम्म निरन्तर समाज अगाडि बढाईरहेको र त्यसलाई थप सशक्त बनाउन सबैलाई साथ दिन अपिल गर्नुभयो। उपाध्यक्ष रणपालले नेपाल एकीकरणमा पृथ्वीनारायाण शाहलाई राणनीतिक तथा अर्थिक सल्लाहकारको भूमिका खेलेका विसे नगर्चिको बारेमा जानकारी दिनुभयो ।
“नगर्चिको महिमा र गरिमालाई जिवित राख्न समाजले सातै प्रदेशमा विसे नगर्चिको सालिक स्थापना गर्ने योजना अनुरुप ३ वटा प्रदेशमा सालिक निर्माण भइसकेको छ र बाँकी बन्ने क्रममा छन्” राणपालले भन्नुभयो ।
महासचिव अन्जान गौतमले परियार सेवा समाज विभक्त भएर भन्दा एकजुट भएर सामाजिक उत्पीडन विरुद्ध लड्नुपर्नेमा जोड दिनुभयो ।
सो कार्यक्रममा गोरखा नगरपालिका पोखरीथोकमा सालिक निर्माणको मुख्य भूमिका खेल्ने समाजका अध्यक्ष अप्र मेजर बल बहादुर सुन्दास, काठमाडौं चन्द्रागिरी नगरपालिका बाडभंज्याङमा ‘विसे नगर्चि स्मृति वाटिका’ निमार्ण समितका अध्यक्ष दिनेश कुमार परियार र बुटवल उप–महानगर पालिका मणि मुकुन्द सेन उद्यान पार्क फूलबारीमा ‘विसे नगर्चि एकताको प्रतिक नेपाल’का अध्यक्ष रामकुमार रणपाललाई समाजले सम्मान गरेको छ ।