युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर

स्तनपान : राष्ट्रिय औसतभन्दा कर्णालीमा बढी

कर्णाली प्रदेशमा ४० प्रतिशत महिलाले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउने गरेका छन् । बहुसूचक सर्वेक्षण–२०१९ का अनुसार स्वास्थ्य संस्थामा सुत्केरी हुने ६२ प्रतिशतमध्ये जन्मेको एक घण्टामा ४० प्रतिशतले स्तनपान गराउने गरेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

छ महिनासम्म आमाको दूध खुवाउने ६८ प्रतिशत रहेका छन् । जुन राष्ट्रिय औसत (६२ प्रतिशत)भन्दा बढी हो । शिशुलाई छ महिनासम्म आमाको दूध खुवाउने तथ्याङ्कमा कर्णाली र मधेस प्रदेशले अन्य प्रदेशलाई उछिनेका छन् । नेपालमा ६२ प्रतिशत महिलाले शिशुलाई जन्माएको छ महिनासम्म आमाको दूध खुवाउने गर्दछन् । प्रदेश स्वास्थ्य निर्देशक डा रविन खड्काले बहुसूचक सर्वेक्षण–२०१९ ले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराउनेको सङ्ख्या बागमती र गण्डकीभन्दा कर्णालीमा बढी रहेको जानकारी दिनुभयो । उहाँले कर्णाली स्वास्थ्य सेवा ऐनले शिशुको स्तनपानको अधिकार सुनिश्चित गर्नुका साथै आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्री–वितरणमा नियमनको प्रबन्ध गरेको बताउनुभयो ।

बहुसूचक सर्वेक्षणले गण्डकीमा २९ र बागमती प्रदेशमा ३० प्रतिशतले शिशु जन्मेको एक घण्टाभित्र स्तनपान गराएको देखाएको छ । त्यस्तै जन्मेको दुई वर्षसम्म निरन्तर स्तनपान गराउने आमाको सङ्ख्या ८९ प्रतिशत छ । दूधदानी (बोटल फिडिङ)बाट खुवाउनेको सङ्ख्या १२ प्रतिशत छ । सामाजिक विकास मन्त्रालय जनस्वास्थ्य शाखामा कार्यरत सामुदायिक नर्सिङ अधिकृत कविता खत्रीले जन्मिएको एक घण्टाभित्र गराइने स्तनपानले बाल मृत्युदरमा ३३ प्रतिशत कमी ल्याउने बताउनुभयो ।

“दूधदानीबाट आमाको वा अन्य दूध बच्चालाई खुवाउनु स्वास्थ्यका दृष्टिकोणले राम्रो मानिँदैन, आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तु बिक्री–वितरण गर्न नियमन र अझै सचेतनाका क्रियाकलाप सञ्चालन गर्नुपर्ने देखिन्छ”, नर्सिङ अधिकृत खत्रीले भन्नुभयो, “यद्यपि कर्णाली प्रदेशमा दूधदानीबाट दूध खुवाउने सङ्ख्या कम नै छ, हरेक सार्वजनिक संरचनामा स्तनपान कक्ष, स्वास्थ्य संस्थालाई मातृ तथा बालमैत्री विकास गर्न सके स्तनपानका लागि सहज मद्दत पुग्दछ ।” जन्मेको एक घण्टाभित्र जतिसक्दो चाँडो स्तनपान गराउनु, शिशु छ महिना पूरा नभएसम्म स्तनपान मात्र गराउनु र कम्तीमा दुई वर्षसम्म अन्य पौष्टिक आहारसँगै निरन्तर स्तनपान गराउनु बाल स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *