युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

आठ स्रष्टालाई प्रज्ञा पुरस्कार

नेपाल प्रज्ञा–प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिक शास्त्र र दर्शनशास्त्रका क्षेत्रमा विशिष्ट योगदान पु¥याउनुभएका आठ स्रष्टालाई प्रज्ञा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ ।

प्रतिष्ठानको गत साउन ३० गते सम्पन्न प्राज्ञ सभाको ३७औँ बैठकले २०७९ सालका लागि रुपन्देहीका रामचन्द्र भट्टराईलाई ‘नेपाल प्रज्ञा नेपाली साहित्य पुरस्कार’, पहाडी–हिमाली क्षेत्रमा बोलिने मातृभाषाका साहित्यका लागि दोलखाका खेन्पो डवाङ वोसेर लामा शेर्पालाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ तथा मधेश–तराईमा बोलिने मातृभाषाको साहित्यका लागि कञ्चनपुरकी शर्मिलाकुमारी चौधरीलाई ‘नेपाल प्रज्ञा मातृभाषा साहित्य पुरस्कार’ दिने निर्णय गरेको छ । पुरस्कारको राशि जनही रु एक लाख
छ ।

यस्तै भोजपुरका प्रा डा प्रेमकुमार खत्रीलाई ‘नेपाल प्रज्ञा संस्कृति पुरस्कार’, काठमाडौँका प्रा विद्यानाथ उपाध्यायलाई ‘नेपाल प्रज्ञा दर्शनशास्त्र पुरस्कार’ र काठमाडौँकै डा नयनाथ पौडेललाई ‘नेपाल प्रज्ञा सामाजिक शास्त्र पुरस्कार’ प्रदान गर्ने निर्णय भएको प्रतिष्ठानका सदस्यसचिव प्रा जगतप्रसाद उपाध्यायले जानकारी दिनुभयो । पुरस्कारको राशि जनही रु एक लाख छ ।

यसैगरी २०७८÷७९ का लागि भारतको दार्जिलिङका नरबहादुर दाहाललाई रु दुई लाख राशिको ‘भानु प्रज्ञा अन्तरदेशीय नेपाली साहित्य पुरस्कार’ र झापाका प्रा डा गोविन्दराज भट्टराईलाई रु दुई लाख राशिकै ‘नेपाल प्रज्ञा अनुवाद पुरस्कार’ प्रदान गर्ने निर्णय गरिएको छ । यी पुरस्कार प्रत्येक दुई वर्षमा प्रदान गरिन्छन् ।

प्रत्येक चार वर्षमा प्रदान गरिने नेपालकै सर्वोच्च र विशिष्ट पुरस्कार रु चार लाख राशिको ‘पृथ्वी प्रज्ञा पुरस्कार’ र तीन हजार अमेरिकी डलर राशिको ‘नेपाल प्रज्ञालङ्कार’ दुई वर्षअघि नै वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी र चीनका प्राध्यापक वाङ हङ्वेईलाई प्रदान गरिसकिएको छ

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *