युवा आलोक

Online News Portal

समाचार

बस्ती जोगाउन स्थानीयलाई साथ दिदै मन्त्री बडू

यहाँको बाढीप्रभावित क्षेत्र महाकाली नगरपालिका–४ बाङाबगड क्षेत्रमा बस्ती जोगाउन स्थानीयसँगै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले समेत साथ दिनुभएको छ । शुक्रबार आएको लास्कुखोलाको कटानले बाङाबगड वस्ती बिस्थापित हुन थालेपछि मन्त्री बडू स्वयं ढुङ्गा बोकेर स्थानीयलाई साथ दिँदै हुनुहुन्छ ।

शनिबार नेपाली सेनाको हेलिकप्टरमार्फत राहत लिएर सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री मानबहादुर धामीसँगै जिल्ला पुग्नुभएका उहाँ लास्कु खोलामा ढुङ्गा बोकेर साथ दिइरहनुभएको छ । प्रदेशसभा सदस्य गेल्बुसिंह बोहरा, महाकालीका नगर प्रमुख नरसिह चैसिर, उपप्रमुख दुर्गाकुमारी खत्री विष्ट, नेकपा (एमाले)का जिल्लास्तरीय नेता, जिल्लास्थित सुरक्षाकर्मी, स्थानीय र युवा विद्यार्थीले बिहानैदेखि तारजाली लगाएर बाङबगड क्षेत्रमा खोला फर्काउने प्रयास गरिरहेका छन् ।

बस्ती जोगाउन तत्कालीन अवस्थामा ढुङ्गा जाली लगाएर नदीको धार परिवर्तन गर्नुपर्ने आवश्यक्ता रहेको मन्त्री बडूले बताउनुभयो । उहाँले भन्नुभयो, “अहिलेलाई पहिलो चरणमा कटान रोक्ने काम गराँै ।” नदीको बहाव कम हुने बित्तिकै बजारको कटान रोकिन्छ । यो सबैको साझा दायित्व हो । बजार क्षति भयो भने फेरि दर्जनौ घर तथा पसलमा क्षति हुने देखिन्छ ।

बाङाबगड क्षेत्रको खानेपानी ट्याङ्की नजिकैको बजार कटान हुन थालेपछि तारजाली र ढुङ्गा भर्ने काम भइरहेको एमाले जिल्ला कमिटी उपाध्यक्ष चरनसिह बुढाथोकीले बताउनुभयो । स्थानीयको सहभागितामा बिहान ६ बजेबाटै ढुङ्गाजाली भर्न थालिएको छ । माथिल्लो बाङाबगड नजोगाउने हो भने पूरै बजार विस्थापित हुने अवस्था रहेको छ ।

वेपत्ता १० जना अझै भेटिएनन्, खोजीकार्य जारी

शुक्रबार रातिदेखिको अविरल वर्षा र बाढीपहिराका कारण बेपत्ता भएका महाकाली नगरपालिकाका दश जना अझै भेटिएका छैनन् । महाकाली नगरपालिका र नौगाड गाउँपालिकामा ठूलो मात्रामा जनधनको क्षति भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार बाढीपहिरामा परेर अहिलेसम्म पाँच जनाको मृत्यु भएको छ भने दश जना बेपत्ता छन् । महाकाली–३ का धनसिंह कार्की, दिपक कार्की, दिनेश कार्की, महाकाली–४ का सरस्वती लुहार, मोहन लुहार, महाकाली–२ का मानमति शाहु, महाकाली–१ का मञ्जु लुहार, दिनेश लुहार, साजन लुहार र दलजीत लुहार बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक जगत गाहामगरले बताउनुभयो ।

महाकाली नदीमा पानीको बहाव नघट्दा बेपत्ताको खोजीमा समस्या भइरहेको छ । उनीहरुलाई महाकाली नदी किनार नजिकका प्रहरी युनिट परिचालन गरेर खोजी भइरहेको छ । राहत र उद्धारको काम सँगसँगै अघि बढाइएको छ । अहिलेलाई पीडितलाई त्रिपाल दिइएको छ । अस्थायी बसोबासको प्रबन्ध भइरहेको छ । अधिकांशले आफन्तको घरमा तथा जिल्ला समन्वय समितिको हलमा आश्रय लिइरहेका छन् ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *