युवा आलोक

Online News Portal

कृषि समाचार

उखुमा रेडरड रोगको समस्या, किसान चिन्तित

बेलौरी नगरपालिका–८ का किसानले रोपेका उखुखेतीमा रेडरड (रातो सडन) रोग समस्या देखापरेको छ । किसानले ६० बिघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो ।

पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखापरेको नगरपालिका कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिनुभयो । “किसानले रोपेको १५ बिघा बढीको उखु पूरै सखाप भएको छ”, उहाँले भन्नुभयो, “अरु किसानको १० प्रतिशतदेखि ८० प्रतिशतसम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ ।” सिओ–२३८ र सिओ–२०८ जातका उखुमा रोग बढी देखापरेको छ । “यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पूरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्धसमेत आउँछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो”, शाखा प्रमुख भट्टले भन्नुभयो, “यसको रोकथामका लागि किसानलाई ढुसीनाशक विषादी उपलब्ध गराउने कार्य भइरहेको छ ।” चिनी मिलले समेत किसानलाई सल्लाहसँगै विषादी उपलब्ध गराएको छ ।

उखुखेती गरेका किसान कर्मु रानाले उखु बालीमा रेडरड नामक रोगले नोक्सानी गर्न थालेको बताउनुभयो । “उखुखेती गरिएको पाँच बिघा जग्गाको धेरै ठाउँमा रोग देखापरेको छ”, उहाँले भन्नुभयो, “रोगबाट उखु जोगाउनका लागि ढुसीनाशक विषादी छर्कने कार्यमा जुटेको छु । रोपेको १० प्रतिशतमा रोग देखिएको छ ।” अर्का किसान भम्टा रानाले तीन बिघा जग्गामा उखुखेती गरिएकोमध्ये एक बिघा जग्गाको उखु रोगका कारण पूरै सुकेर नोक्सनी भएको बताउनुभयो ।

“ऋण लिएर उखुखेती गरेको थिएँ”, उहाँले भन्नुभयो, “उखु रोगका कारण सुकेपछि रु तीन लाख बढीको नोक्सानी व्यहोर्नुपरेको छ ।” “सुरुआतमै रोग लाग्न लागेको बेला ढुसीनाशक विषादी छर्किए यसले नियन्त्रण गर्छ”, उखु किसान असारे वडाकले भन्नुभयो, “रोग लागिसकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ ।” व्यापकरूपमा रोग फैलिएकाले उखु काटिँदासम्म निकै नोक्सान पु¥याउने उहाँले बताउनुभयो ।

अहिलेसम्म एक सय ५० किसानले रोपेको उखु बालीमा नोक्सनी भएको छ । यसबाट उनीहरुले रु ५० लाख बढीको नोक्सानी व्यहोरेका छन् । नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ । यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पु¥याउँछ । “उखुकोे पातमा सेतो धब्बाहरू देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ”, उहाँले भन्नुभयो, “उखुको भित्र–भित्र कुहिदै जान्छ । बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ ।” उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नुपर्ने उहाँले बताउनुभयो । बेलौरीका ८० प्रतिशत बढी किसानले उखुखेती गर्दै आएका छन्।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *