युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर

जोखिममा इन्द्रावतीका पुल

हेलम्बु राजमार्गअन्तर्गत इन्द्रावती नदीमा रहेका पुल अवैधरूपमा गिट्टी र बालुवा निकाल्ने गरेकाले जोखिममा परेका छन् । सडक जोड्ने पक्की पुल तथा झोलुङ्गे पुल रहेको स्थानदेखि पाँच सय मिटरभित्रको दायाँबायाँका ठाउँमा गिट्टी र बालुवा झिक्न नपाउने कानूनी प्रावधान रहे पनि हालसम्म सम्बन्धित निकाय मौन रहेकाले एक दर्जन पुल जोखिममा परेको सिपाघाटका किशोर विद्याधरले बताउनुभयो ।

पुल रहेकै क्षेत्रमा गिट्टी र बालुवा निकाल्ने काम निरन्तररूपमा जारी रहेको बाँडेगाउँका निर्मफ माझीले जानकारी दिनुभयो । माझीका अनुसार इन्द्रावती नदीमा रहेको एक दर्जन क्रसर उद्योगले स्काभेटर प्रयोग गरी निरन्तररूपमा गिट्टी, बालुवा निकाल्ने काम भइरहेको तर यसलाई रोक्न तथा पुलको संरक्षण गर्नका लागि अहिलेसम्म कसैले पनि ध्यान नदिएको छैन ।

जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख बालकृष्ण श्रेष्ठ भने प्रावधानअनुसार गिट्टी, बालुवा झिक्ने कार्यलाई व्यवस्थित गरी राजस्व सङ्कलन गर्ने सोच भइरहेको बताउनुहुन्छ । प्रावधानअनुसार गिट्टी, बालुवा झिक्ने कार्यलाई व्यवस्थित गरेपछि पुलको पनि संरक्षण हुने समन्वय प्रमुख श्रेष्ठको भनाइ छ ।

निरन्तररूपमा खोलाजन्य वस्तु निकाल्ने काम भइरहेको र त्यसलाई स्थानीय तहलेसमेत आम्दानीका रूपमा उपयोग गरिरहेको तर करोडौँ लगानीमा बनेको पुलको संरक्षण गर्ने विषयमा अहिलेसम्म कसैको पनि ध्यान जान नसकेको भिमटारका कृष्णबहादुर दनुवारले दुखेसो पोख्नुभयो । पुल संरक्षणका लागि सडक विभागले समेत ध्यान दिएको छैन । क्रसर उद्योगले स्काभेटर प्रयोग गरेर बालुवा झिक्न नपाउने भए पनि नियम उल्लङ्घन गरेर बालुवा झिकिरहेको दनुवार बताउनुहुन्छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *