युवा आलोक

Online News Portal

समाचार

बागलुङका स्थानीय तहलाई चार ३४ करोड ८१ लाख अनुदान

जिल्लाका १० स्थानीय तहलाई सङ्घीय सरकारबाट रु चार अर्ब ३४ करोड ८१ लाख बजेट विनियोजन भएको छ । जिल्लाका चार नगरपालिका र ६ गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो ।

सबैभन्दा बढी बागलुङ नगरपालिकालाई रु ८५ करोड २५ लाख बजेट विनियोजन गरिएको छ । गलकोट नगरपालिकालाई रु ५१ करोड एक लाख, जैमिनी नगरपालिकालाई रु ५२ करोड २४ लाख र ढोरपाटन नगरपालिकालाई रु ३७ करोड एक लाख बजेट विनियोजन भएको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो ।

यस्तै बडिगाड गाउँपालिकालाई रु ४८ करोड चार लाख, काठेखोलालाई रु ३९ करोड ७६ लाख, निसीखोलालाई रु ३३ करोड १२ लाख, बरेङलाई रु ३० करोड पाँच लाख, ताराखोलालाई रु २६ करोड ४३ लाख र तमानखोला गाउँपालिकालाई रु २१ करोड ९० लाख बजेट विनियोजन गरिएको छ । सङ्घीय सरकारले सशर्त, विशेष अनुदान, सपपूरक अनुदान, राजश्व बाँडफाँटलगायत शीर्षकमा स्थानीय तहलाई अनुदान दिने गरेको छ ।

प्रदेश सरकारले दिने अनुदान, सङ्घीय अनुदान र स्थानीय स्रोतसमेत समावेश गरेर स्थानीय तहले बजेट बनाउने गरेका छन् । सङ्घीय सरकारको बजेट आएसँगै बागलुङका स्थानीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट बनाउने काम थालेका छन् । समयमै नीति तथा कार्यक्रम र बजेट ल्याउनका लागि काम भइरहेको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले बताउनुभयो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *