युवा आलोक

Online News Portal

खेलकुद समाचार

‘निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न हुन्छ’

युवा तथा खेलकुदमन्त्री महेश्वरजङ्ग गहतराजले आफ्नो मन्त्रालयको २०७९÷८० मा विनियोजित वार्षिक बजेटबाट निर्धारित कार्यक्रम पारदर्शी एवं प्रभावकारी ढङ्गबाट सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

राष्ट्रियसभाको आजको वैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत विभिन्न मन्त्रालयसँग सम्बन्धित विनियोजन शीर्षकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै मन्त्री गहतराजले खेल क्षेत्रलाई उद्यमका रुपमा अगाडि बढाउने सन्दर्भमा राज्यले प्राथमिकताका साथ ध्यान दिनुपर्नेमा जोड दिनुभयो । खेल क्षेत्रलाई आर्थिक उत्पादनसँगै, शिक्षा, स्वास्थ्यसँग अन्तरनीहित र निर्भर गराएर त्यसको विकास गर्ने विषयमा राज्यको ध्यान जानुपर्ने उहाँको भनाइ छ ।

मन्त्री गहतराजले आगामी वर्ष युवालाई एकीकृत शक्तिका रुपमा विकास गर्न युवा क्लब गठन गरी नमूना युवा क्लबको अभ्यास, स्वयंसेवक विकास तथा परिचालन कार्यक्रम, उत्पादन तथा पूर्वाधार कार्यक्रममा युवालाई सरिक बनाउन सार्क युवापरिषद् गठन तथा साझेदारी निर्माण जस्ता कार्यक्रम अघि सारिएको प्रस्ट पार्नुभयो ।

खेलकुद र खेलाडीको संरक्षण तथा विकासका लागि यसै आर्थिक वर्षदेखि खेलकुद बीमाको व्यवस्था गरिएको उल्लेख गर्दै उहाँले दुर्घटनामा परेका खेलाडीको उपचार गर्न चिकित्सा केन्द्रलाई व्यवस्थित गर्न बजेटको व्यवस्था गरिएको प्रस्ट पार्नुभयो । खेलकुद र खेलाडीको निकास विद्यालय तहदेखि नै गर्ने उद्देश्यले खेलकुद उद्यमस्थलका रुपमा विकास गर्न यसै आर्थिक वर्षदेखि नमूनाका रुपमा ‘एक विद्यालय, एक क्लब’ कार्यक्रमको प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *