युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर

प्रसूति सेवा बन्द

महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा ‘निक साइमन्स’ संस्थाले प्रसूतिका लागि उपलब्ध गराउँदै आएको निःशुल्क शल्यक्रिया सेवा आजदेखि बन्द भएको छ । उक्त दातृ संस्थाले २०७० असोज महिनादेखि जलेश्वर अस्पतालमा प्रसूति हुने महिलाका लागि निःशुल्क शल्यक्रिया सेवा दिँदै आएकोमा गत असार मसान्तदेखि सोे कार्यक्रम सकिएकाले हिजोदेखि प्रसूति सेवा पनि बन्द भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट एवं अस्पताल प्रमुख डा सतिश साहले बताउनुभयो ।

उक्त अस्पतालमा शल्यक्रिया गरेर बच्चा जन्माउने सुविधाको थालनी नै २०७० मा निक साइमन्स संस्थाले गरेको थियो भने अहिले सो संस्थाले कार्यक्रम सकेर गएपछि सो सेवा पनि बन्द भएको हो । निक साइमन्सले पाँच प्राविधिक (एमडिजीपी–१, मेडिकल अफिसर–१, एनेथिसिया असिस्टेन्ट–१, स्टाफनर्स–१ र बीएमईटी–१ जना) लाई पठाएर नौ वर्षसम्म जलेश्वर अस्पतालमा बच्चा जन्माउन आउने महिलालाई निःशुल्क सिएस सल्यक्रिया दिँदै आएको थियो ।
यो सेवा यस अस्पतालको मुख्य सेवामध्ये एक थियो भने गरिब तथा जलेश्वर अस्पतालमाथि विश्वास गर्ने सम्पूर्ण व्यक्तिका लागि निक्कै उपयोगी सावित पनि भएको थियो तर आज यो सेवा बन्द भइसकेपछि त्यस्ता व्यक्तिलाई प्रसूतिको क्रममा गरिने शल्यक्रियाका लागि जलेश्वर बाहिर जानुपर्ने बाध्यता आएको उहाँले बताउनुभयो । करिब एक दशक महोत्तरीका हजारौँ महिलालाई प्रसूतिको क्रममा निःशुल्क शल्यक्रिया गर्न÷गराउनमा सक्रिय रहनुभएकी निक साइमन्सकी स्टाफनर्स चन्डिका अधिकारीले अब जलेश्वरलगायत वरपरका महिलालाई प्रसूतिको बेला पाउने निःशुल्क शल्यक्रिया उपलब्ध नहुने भएपछि बच्चा जन्माउन पनि समस्या हुने बताउनुभयो । उहाँले अब बाहिर जाँदा निजी अस्पतालमा रु एकलाखदेखि डेढलाखसम्म खर्च हुने र सर्वसाधारणलाई आर्थिक समस्या पनि हुनेछ भन्नुभयोे ।

दाता संस्थाले यहाँ निःशुल्क शल्यक्रिया सेवा सुरु गरेदेखि प्रत्येक महिनामा औसतमा १५÷२० महिलालाई निःशुल्क शल्यक्रिया गरेर बच्चा जन्माउन सेवा प्रदान गरिएको थियो भन्दै स्टाफ नर्स अधिकारीले अब यो सेवा बन्द भएपछि यहाँका गरिब, विपन्न महिला जटिल अवस्थामा कहाँ जाने र कसरी प्रसूति हुने भन्ने चिन्ता व्यक्त गर्नुभयो । यस सम्बन्धमा मेसु डा साहले आफूले उक्त संस्थाको सेवा निरन्तर राख्न स्थानीय, प्रदेश तथा सङ्घीय सरकार, सरोकारवाला स्वास्थ्य निकायसँग कुरा गरे पनि यस संस्थाले निरन्तरता नपाउने भएको गुनासो गर्नुभयो । उहाँले यसको विकल्पमा प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले चाँडै अस्थायी दरबन्दी सहितको ५० बेडको व्यवस्था गरेर शल्यक्रिया सहितको प्रसूति सेवा चालु गर्न आश्वासन दिएको जानकारी दिनुभयो । आजदेखि शल्यक्रिया सेवा बन्द भएपछि जलेश्वरवासीमा चिन्ता बढेको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *