युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर

नरैनापुरमा धार्मिक पर्यटकको लर्को

बाँकेको दुर्गम क्षेत्रका रुपमा रहेको नरैनापुरमा रहेका मठमन्दिरमा धार्मिक पर्यटकको लर्को लागेको
छ । नरैनापुर गाउँपालिकाको चुरेक्षेत्रमा रहेका सन्तानेश्वर मन्दिर र धार्मिक पर्यटकीय क्षेत्र गोवद्र्धन धाम मन्दिरमा धार्मिक यात्रासहित सर्वसाधारण पुग्ने गरेका छन् ।

नेपालगञ्जदेखि करिब ३० किलोमिटरजति टाढा पर्ने सन्तानेश्वर मन्दिर पुग्न करिब आठ किलोमिटर चुरे पहाड जङ्गलको कच्ची बाटोमा पैदलयात्रा गर्नुपर्दछ भने धार्मिक पर्यटकीय क्षेत्र गोवद्र्धन धाम मन्दिर पुग्न १२ किलोमिटर पैदलयात्रा गर्नुपर्ने नरैनापुरका अगुवा विनय दीक्षितले बताउनुभयो ।

उहाँका अनुसार नेपालगञ्जबाट २२ किलोमिटर टाढापर्ने नरैनापुरको कोहलाबाट उत्तरतर्फ आठ किलोमिटर उकालो पहाड हिँडेपछि सन्तानेश्वर मन्दिर पुगिन्छ । अर्को धार्मिकस्थल गोवद्र्धन धाममन्दिर पुग्न नरैनापुर–५ मटेहियादेखि करिब १२ किलोमिटर चुरेपहाडको यात्रा तय गर्नुपर्छ ।

चुरे पहाड जङ्गलको बीचमा कच्ची बाटोमा उकालोओरोलो यात्रा गर्नुपर्ने भए पनि मनोरम दृश्य र साथीहरुसँगको समूहमा सजिलै यी धार्मिक क्षेत्रमा पुग्न सकिने दीक्षितको भनाइ छ । धार्मिक पर्यटकीय क्षेत्र गोवद्र्धन धाम मन्दिर पुग्न आज साउने सोमबारको अवसरमा नेपालगञ्जबाट समेत ठूलो सङ्ख्यामा सर्वसाधारण धार्मिक यात्रामा सहभागी भएका छन् ।

सन्तानेश्वर मन्दिरमा प्रत्येक शनिबार नेपालगञ्जलगायत जिल्लाका विभिन्न स्थानबाट भक्तजनको भीड लाग्ने गरेको छ । पर्यटनको राम्रो सम्भावना बोकेको सन्तानेश्वर मन्दिरमा जाने बाटो बनिसकेको छैन । अप्ठेरो बाटो भए पनि भक्तजन मन्दिरमा पुग्ने गरेका छन् । सहरभन्दा टाढा जङ्गलको बीचमा पहाडको टाकुरामा मन्दिर रहेकोेले त्यहाँको प्राकृतिक मनोरम सौन्दर्यता अवलोकन र पैदल यात्राका लागि नेपालगञ्जबाट समूह बनाएर भक्तजन पुग्ने गरेका छन् ।

सन्तानेश्वर मन्दिरमा अन्य दिनभन्दा शनिबार धेरै भीडभाड हुने गरेको छ । सन्तानेश्वर मन्दिर अहिले जिल्लाभरी चर्चामा रहेको छ । ऐतिहासिक धार्मिकस्थल सन्तानेश्वरमा २०७० सालमा मन्दिर बनाइएको थियो ।

गाउँपालिकाले मन्दिरमा सोलार बत्ती, खानेपानीको व्यवस्था र मन्दिरसम्म पुग्नका लागि बाटो बनाउने योजना बनाएको गाउँपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताउनुभयो । सन्तानेश्वर मन्दिरले नरैनापुरलाई धार्मिक क्षेत्रका रुपमा चिनाएको उहाँको भनाइ छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *