युवा आलोक

Online News Portal

खेलकुद राष्ट्रिय समाचार

यू–२३ राष्ट्रिय भलिबलः गण्डकीका दुई खेलाडी छनोट

बङ्गलादेशको राजधानी ढाकामा हुने ‘बङ्गबन्धु एसियन यू–२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता’का लागि यू–२३ राष्ट्रिय टिममा गण्डकी प्रदेशबाट दुई खेलाडी छनोटमा परेका
छन् ।

नेपाली भलिबल सङ्घले घोषणा गरेको १४ सदस्यीय यू–२३ टिममा गण्डकीबाट बागलुङका रवि केसी र स्याङ्जाका भीमराज गुरुङ छनोट पर्नुभएको हो । बाइस वर्षीय केसी ओपन स्पाइकर र गुरुङ लिबेरो हुनुहुन्छ ।

आउँदो पुस ५ देखि ११ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा टिमले नेपालका तर्फबाट भाग
लिनेछ । देशभरबाट खुला छनोटमा परेका २० खेलाडीमध्ये एक महिनाको बन्द प्रशिक्षणमा गरेको उत्कृष्ट प्रदर्शनका आधारमा १४ जना खेलाडीको अन्तिम छनोट गरिएको सङ्घले जनाएको छ ।

भलिबल खेलको इतिहासमा पहिलोपटक यू–२३ राष्ट्रिय टिम तयार पारी अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालले सहभागिता जनाउन लागेको हो । केसी र गुरुङसँगै धिरोजकुमार बस्नेत, सन्तोष खत्री, अर्जुन नेपाली, रुपबहादुर गराउ, विष्णु बस्नेत, सफल विक, सन्तोष महत्ता, मनिष मानन्धर, हेमन्त मल्ल, बेदप्रकाश जोशी, सम्राट भण्डारी र गौरव पाण्डे टिममा हुनुहुन्छ ।

गलकोट नगरपालिका–७ मल्मका केसी भलिबलमा उदाउँदो प्रतिभा हुनुहुन्छ । यू–२३ राष्ट्रिय टिममा परेसँगै उहाँको खेल करिअर नयाँ मोडमा आइपुगेको छ । देशका लागि अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना साकार हुन लागेको केसीले सुनाउनुभयो ।

“टिममा पक्कै पर्छु भन्ने लागेको थियो, मेहेनत पनि त्यसैअनुसार गरेको थिएँ, छनोटमा पर्दा खुसी छु”, उहाँले भन्नुभयो । केसी छोटो अवधिमै भलिबलमा चम्किएका खेलाडी हुनुहुन्छ । दुई वर्षअघि काठमाडौँमा भएको ‘एनभिए कप’बाट उहाँले राष्ट्रियस्तरको प्रतियोगितामा डेब्यु गर्नुभएको थियो ।

गलकोट स्पोर्टस् क्लबबाट रविले उक्त प्रतियोगितामा उत्कृष्ट खेल्दै धेरैको मन जित्नुभएको थियो । त्यसता उहाँले ‘टाइगर कप’ हुँदै हालै सम्पन्न नवौँ राष्ट्रिय खेलकुदमा गण्डकी प्रदेशबाट खेल्नुभएको थियो । जिल्ला भलिबल सङ्घ बागलुङका अध्यक्ष योगश भण्डारीले खेल कौशल र अनुशासनमा केसी अब्बल रहेको बताउनुभयो । उहाँले केसीलाई भलिबलमा भविष्य बोकेको खेलाडीका रूपमा लिनुभयो ।

बङ्गलादेश भलिबल फेडेरेशनको आयोजना तथा सेन्ट्रल एसियन भलिबल एशोसिएशनको संयोजनमा उक्त अन्तर्राष्ट्रिय प्रतियोगिता हुन लागेको हो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *