युवा आलोक

Online News Portal

राष्ट्रिय समाचार

राष्ट्रिय टोपी दिवस संगै आज राष्ट्रिय पोशाक दिवस पनि मनाइँदै

आज राष्ट्रिय टोपी दिवस र राष्ट्रिय पोशाक दिवस विभिन्न कार्यक्रम गरि मनाइदै छ। “हाम्रो गौरव, हाम्रो पहिचान” भन्ने नारासहित हरेक वर्ष जनवरी १ तारिखमा नेपाली टोपी दिवस स्व स्फूर्त रूपमा मनाउन थालिएको हो।

वि.स २०७० सालदेखि युवाहरुको पहलमा हरेक वर्षको उक्त दिनलाई टोपी दिवस र पौष १७ गतेलाई राष्ट्रिय पोसाक दिवसको रूपमा मनाउन सुरु गरेका थिए। पछिल्लो समय मुलुकमा पश्चिमा संस्कृतिको प्रभाव बढ्दै गएको भन्दै केही युवाको अगुवाइमा टोपी दिवस मनाउन लागिएको हो।

यस्तै विश्व युद्धको बेलामा वीरहरुले उठाएका शिरलाई शोभायमान गर्दै सगरमाथाका शिरसम्म लागेको यस टोपीको इतिहास लामो रहेको छ। कहिले शिर शोभायमान गर्दै त कहिले पसिनाको लाज राख्दै खेत देखि विदेशसम्म नेपालीपनको शान नेपाली टोपीले राखेको छ। ढाका टोपी दिवस भने पनि नेपाली पुस्ताले ढाका टोपीसँगै भादगाउँले टोपीको पनि महत्त्व बुझ्न जरुरी छ ।

प्रथम राणा प्रधानमन्त्री जङ्ग बहादुर राणा सन् १८४० मा बेलायत जाँदा जहाजका बङ्गाली कर्मचारीले धोती माथि लगाएका कमिज अर्थात् अहिलेको इस्टकोट अनि ढाका टोपी देखेर राम्रोलागि त्यही भेष नेपालमा लिएर आएका कथाहरू पनि ढाका टोपी पछाडिका अपुष्ट इतिहास हुन् । “ढाका “नेपाली हातले बुनिने एउटा विशेष कपडाको प्रकार हो र त्यसबाट बनेको टोपी नेपालीको शान हो ।

यस्तैगरि ढाका टोपीको इतिहासलाई हेर्दा हामी भारतमा ब्रिटिस साम्राज्यको राजकाजबाट हेर्नुपर्ने हुन्छ । त्यस समयमा भारतमै रहेको बङ्गलादेशमा निर्माण हुने टोपीको कपडा बङ्गलादेशको ढाकामा बन्ने गर्दथ्यो जसलाई नेपालसम्म आयात गरिन्थ्यो । क्रमशः ढाकामा बनेको यस टोपीलाई ढाका टोपी भनिन थाल्यो, यही टोपी अहिले नेपाली शानको पर्याय हुन गएको छ । आज नेपाल ढाका कपडामा स्व निर्भर छ, पाल्पा लगायतका धेरै ठाउँमा ढाका कपडाको उत्पादन हुने गर्दछ । साथै पाल र नेपाल बाहिर रहेका नेपाली समुदायमा लहरसँगै पछिल्लो समय नेपाली टोपी लगाउनेको सङ्ख्या बढिरहेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *