युवा आलोक

Online News Portal

हेडलाइन

इलाम २ उपनिर्वाचन : मिलनको गाउँमा रवि, लारुम्बाको भोट तान्ने प्रयास

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शुक्रबार इलाम–२ मा दुईवटा सभा गर्‍यो। प्रमुख अतिथिको रूपमा पुगेका थिए, पार्टी सभापति रवि लामिछाने।
माङ्सेबुङ गाउँपालिकाका दुई स्थानमा रास्वपाले सभा गरेको थियो। माङ्सेबुङ रास्वपा उम्मेदवार मिलन लिम्बुको स्थायी घर भएको पालिका हो।आफ्नै पालिकामा आयोजित दुई सभामा रविलाई पुर्‍याएर लिम्बुले भोट सुरक्षित गराउन खोजेको देखिन्छ। सुरुमा लारुम्बा र त्यसपछि माङमालुङ बजारमा सभा आयोजना भए। पार्टी सभापतिसहितका केही सांसद काठमाडौँबाट आउने भएपछि केही दिनदेखि नै आजको कार्यक्रमको तयारी थियो।
लामिछानेले लारुम्बा र माङमालुङ पुगेर सम्बोधन गरे। सांसदहरू अशोक चौधरी, निशा डाँगीसहित प्रदेश र केन्द्रका अन्य नेताहरू पनि सभामा पुगेका थिए।

रास्वपा इलामको चुनावमै खटिएका नेताहरूका अनुसार, लारुम्बा पुग्नैपर्ने निष्कर्ष यसअघि नै थियो।यो किराँत धर्मगुरु आत्मानन्द लिङ्देनको क्षेत्र हो। धर्मगुरूको प्रभावक्षेत्रका रूपमा हेरिने यहाँको समुदायले कता भोट हाल्छ भन्ने चासो इलामभरि नै छ। साथै, यस क्षेत्रको करिब ५ हजार मत धर्मगुरूले दिने अन्तिम दिनको इशाराबाट प्रभावित हुने मानिन्छ।

रास्वपाले पनि यो भोट तान्ने प्रयासस्वरूप रविलाई लारुम्बा पुर्‍याएको बुझ्न गाह्रो छैन। उपप्रधान तथा गृहमन्त्रीसमेत रहेका रविले दुईवटै सभामा मतदातालाई भोट परिवर्तन गर्न सुझाए। लारुम्बाबाट भने उनले पहिचानवादीको मुद्दासमेत उठाएर सम्बोधन गरेका छन्। केहीबेर वडा नम्बर ५ लारुम्बाको घरदैलोमा पनि रवि सहभागी भए।

लामिछानेलाई मतदाताले पहिचानबारे प्रश्न गरे। लारुम्बाकै स्थानीय बुद्धि नेम्बाङले पहिचानबारे पार्टीको स्थापित लाइन प्रस्ट नपारेसम्म भोट नहाल्ने बताएका थिए। लगत्तै रविले सभामै यसबारे प्रस्ट पार्ने बताएका थिए।

‘रास्वपालाई तपाईंहरूले जिताइदिनैपर्छ,’ रविले प्रश्न गरे, ‘बाजेलाई पनि भोट हालेकै हो, बुवालाई पनि हालेकै हो, यसपटक पनि पुरानैमा हाल्ने?’उनले मतदातालाई पार्टी नफेर्न तर भोट फेर्न लगातार आग्रह गरिरहे। लारुम्बामा पनि रविले लागातार त्यही भनिरहे। खासमा यस क्षेत्रका मतदाताहरू दलप्रति पूरै नखुल्दा रहेछन्। धर्मगुरुलाई मान्ने उनीहरू भोट परिवर्तन नै गर्ने भए पनि मनमनै गर्नुपर्ने आन्तरिक बुझाइमा छन्।

इलामका जनताले भोट परिवर्तन गर्नुपर्ने बेला आएको भन्दै रास्वपालाई जिताएर यहाँको विकासमा सहयोग गर्न रविले मतदातासमक्ष आग्रह गरे। लारुम्बामा हुँदा रविले यहाँका पहिचान पक्षधरलाई आफूतिर तान्ने गरी माहोल बनाउने प्रयास गरे। रास्वपा पहिचानको पक्षधर नभएको भन्दै उनले त्यहाँका जनतालाई भोट हाल्न आग्रह गरेका छन्।

सँगसँगै रविलाई इलाममा हुँदा काठमाडौँमा आलोचना होला कि भन्ने डर पनि थियो। गृहमन्त्री नै प्रचारमा हिँडेको भनेर आलोचना खेप्नुपर्ने हो कि भन्ने चिन्ता लामिछानेमा देखिन्थ्यो। त्यसले उनले माङ्सेबुङ र लारुम्बाका दुवै सभामा आफू सरकारी सम्पत्तिको दुरुपयोग नगरेको प्रस्टीकरण दिए। ‘चुनावी सभामा भाग लिन म कुनै सरकारी गाडीको झण्डा फहराउँदै आएको छैन, म मात्रै यहाँ पार्टी नेताको हैसियतले आएको हुँ,’ उनले दुवै सभामा भने।

रास्वपा नेताहरूले आफ्नो पार्टी पहिचानविरोधी नरहेको भनेर स्थानीय मनोविज्ञानसँग नजिकिन खोज्दै थिए। लारुम्बामा रास्वपा केन्द्रीय सदस्य रमेश प्रसाईं र निशा डाँगीले चुनावी सभामा पार्टी पहिचानविरोधी नभएको भन्दै मतदाता फकाउन खोजे।रास्वपाको टोली अहिले चुनावी घरदैलोमा छ। ०८४ को निर्वाचनलाई समेत यो निर्वाचनको जितहारले अर्थ राख्ने भन्दै रास्वपाले इलामको जित निकाल्ने सक्दो प्रयास गरिरहेको छ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *