युवा आलोक

Online News Portal

समाचार स्थानीय खबर हेडलाइन

चार दशकदेखि प्रतिलिपि अधिकारको खोजी : गीत सोतीको, कमाई अर्कैको

नवलपुर । ‘म्याउँ म्याउँ बिरालो’ बोलको गीत ‘नानीबाबु’ नामक युट्युव च्यानलबाट १६ करोड ६७ लाख पटक हेरिएको छ । सोही च्यानलले फेरी अपलोड गरेको त्यही गीत ४ करोड ९३ लाख पटक हेरिएको छ । चुनुमुनु टिभी नामको युट्युव च्यानलबाट ४७ लाख, प्रशन्न बिसी नामको च्यानलबाट अपलोड भएको त्यही गीत २२ लाख पटक हेरिएको छ ।

यस्ता दर्जनौ युट्युव च्यानल छन् जसले यही बाल गीतलाई विभिन्न व्यक्तिको स्वरमा गाउन लगाएर अपलोड गरेका छन् । तर यी कुनै पनि च्यानलले यो गीतका सर्जक को हुन् भनेर कतै खुलाएका छैनन् । बरु उनीहरुले चेतावनी दिएका छन् कि यस च्यानलमा रहेका गीत, संगीत तथा भिडियो कपि तथा डाउनलोड गरी अन्य च्यानलमा अपलोड गरेमा प्रचलित कानुन बमोजिम कडाभन्दा कडा कारवाही गरिनेछ ।

यो बाल गीतका वास्तविक सर्जक नवलपुरको कावासोती–११ का ७८ वर्षीय कवि दिपक सोती हुन भन्ने सायदैलाई थाहा होला । वि.सं. २०२५ सालमा लेखेको यो गीत उनी आफैले २०२८ सालमा रत्न रेकर्डिङ स्टुडियोबाट रेकर्ड गराएका छन् । तर त्यसको पहिचान कतै भेटिँदैन । अनि करोडौं पटक युट्युवहरुमा यो गीत बज्दा पनि वास्तविक सर्जकको नाम उल्लेख छैन ।

गीत मात्र होइन, एकता प्रकाशनले प्रकाशन गरेको नेपाली पाठ्य पुस्तकमा समेत यो गीत समावेश छ । तर त्यहाँ पनि उनको नाम समावेश छैन । कतै पनि आफ्नो पहिचान नभेटिँदा सर्जक सोतीको मन दुखेको मात्र होइन पीडा दिएको छ ।

मञ्चमा उक्लिएपछि सबै उमेर समूहका दर्शक, श्रोताको मन जित्न सफल सोतीको मनमा भने विगत चार दशकदेखि एउटै पिरले डेरा जमाएको छ ‘म्याउँ म्याउँ बिरोलो’ आफ्नो भनेर प्रमाणित कसरी गर्ने ? विसं २०२८ साल तिर रत्न रेकर्डिङमा सङ्गीता थापाको स्वरमा सो बाल गीत रेकर्ड भएको थियो । आफैँले लेखेको गीतले पनि आफ्नो जीवनकालमा आफ्नै नाम दिन पाउँदिन कि भन्ने पिरलोले दिनरात उनलाई सताउने गरेको छ ।

‘नरोक मलाई’ बोलको कविता लेखेर जिल्ला स्तरीय प्रतियोगितामा दोस्रो भइ कवि सिद्धिचरण श्रेष्ठबाट त्यो बेलाको ५० रुपियाँ पुरस्कार पाएपछि म कविता लेखनमा हौसिएको थिए,’’ विगत सम्झदै सोतीले भने, ‘‘विसं २०२५ असारको महिना शनिवारको दिन थियो, मेरो आमा खेतमा जानुभएको थियो, घरमा भाइलाई हेर्दै बसेको बेला बिरालो आएर कराइको दूध खाँदै थियो, त्यहीँ देखेपछि यो गीत लेखेको हुँ ।’’

२०२८ सालतिर लमजुङबाट पाँच दिन पैदलयात्रा गरेर काठमाडौं गएको बेला प्रज्ञा प्रतिष्ठानका सदस्य श्याम दास वैष्णवसँग उनको भेट भयो । वैष्णवको निवास डिल्लीबजारमा चिया पिउँदै गर्दा यो गीत देखाएपछि रेकर्ड गर्ने सल्लाह उनीबाट पाएको सर्जक सोती सम्झिन्छन् ।

उनले श्यामदासबाट सल्लाहमात्रै पाएनन्, उस्ताद भैरव बहादुर थापासँग भेट गराइदिए । भेटपछि भैरव बहादुरकै सङ्गीत र उनकी १० वर्षीया छोरी सङ्गीता थापाको स्वरमा रत्न रेकर्डिङ स्टुडियोमा गीत रेकर्ड भएको सोतीलाई सम्झना छ । रत्न रेकर्डिङको प्लेट नं ८१ मा गीत रेकर्ड भएको र गीत रेकर्डपछि ८५ रुपैयाँ पारिश्रमिकसमेत पाएको सोतीले स्मरण गरे । उनको गीतसँगै अर्को प्लेटमा ‘मै छोरी सुन्दरी, र ‘क ख ग घ’ बोलको गीत रेकर्ड भएको उनले बताए ।

रत्न रेकर्डिङका तत्कालिन प्रवन्ध निर्देशक वरिष्ठ संगीतकार दीपक जंगमले सोतीलाई अगाडि राखेर आफैले यो गीत रेकर्ड गराएको बताए । ‘‘सोती जिसँग मेरो पुरानो सम्बन्ध हो, गीत राम्रो लागेर मैले नै रेकर्ड गराएको हुँ, तर दुर्भाग्य त्यसको प्रमाण कतै भेटिएन, गायिका संगीतालाई पनि सोधे, उहाँले पनि राख्नु भएको रहेन्छ’’ जंगमले भने, ‘‘प्रमाण पाउने एउटा आधार रेडियो नेपाल मात्र हो, किनकी यो अहिले मात्र होइन, त्यतिबेलादेखि कै चर्चित गीत हो र धेरै पटक त्यहाँ बजेको पनि छ ।’’

रत्न रेकर्डिङमा रेकर्ड भएपछि यो गीत रेडियो नेपालसहित अल इन्डिया रेडियो, श्रीलङ्का र चीनको रेडियोबाट प्रशारण हुने नेपाली कार्यक्रममा समेत बज्ने गरेको सोतीले बताए । ‘‘सुरु–सुरुमा त्यति गीतको चासो राखिनँ तर वर्षौदेखि आफ्नै गीतको लेखक खोजिरहेको छु, अत्तोपत्तो छैन’, उनले भने, ‘‘पछि त यही गीत मेरो नाम नराखी पाठ्यपुस्तकमा पनि छापिएर आएछ’, थाहा पाउँदा दुःख लाग्यो ।’’

गीत पाठ्यपुस्तकमा बिना नाम छापिएपछि कवि सोतीले वरिष्ठ संगीतकार जंगमकै सल्लाहमा तत्कालीन शिक्षा सहायकमन्त्री क्षेत्रप्रताप अधिकारीलाई भेटेर पुस्तकमा आफ्नो नाम राखिदिन आग्रह गरे । तर नाम आएन ।

०४६ सालको जनआन्दोलनपछि २०५०/५१ ताका आफ्नो नाम नराखी पाठ्यपुस्तकमा छापेको एकता प्रकाशन पुगेर उनले आपत्ति पनि जनाए । त्यसपछि नाम राखिदिने आश्वासन समेत पाएका थिए । माफी मागेर पारिश्रमिकस्वरुप दुई हजार रुपैयाँ प्रकाशनले दिएको सम्झना सोतीलाई ताजै छ ।

‘नाम त हालेनन् हालेनन्, झन् सम्पादन गर्दा एक जना वस्ती थर भएकाले गीत नै बिगारी दिएछन्,’’ उनले दुःखेसो पोख्दै भने, ‘‘अहिले त झन् युट्युबमा आएको छ, हेर्न पनि धेरैले हेरेका रहेछन्, तर मेरो नाम नै छैन, त्यही माथि गीत पनि बिगारेका रहेछन्, जसले गर्दा मैले पाउनु पर्ने रोयल्टी पनि पाउन सकिन ।’’

आफूसँग भएको गीतको क्यासेट विसं २०४३÷४४ ताका पोखरामा डेरा सर्ने क्रममा फुटेपछि गीतलाई आफ्नो नाम दिन काठमाडौंमा रहेको रेडियो नेपाल र नेपाल टेलिभिजनको कार्यालयमा बर्सेनि धाइरहेको उनले बताउनुभयो । उनलाई आफ्नो जीवनकालमै त्यो गीतको रचनाकारका रूपमा आधिकारिक रूपमा नाम लेखाउन पाए जीवनकै ठूलो उपलब्धि हुने लागेको छ ।

रेडियो नेपालका कार्यक्रम महाशाखा प्रमुख तारा वस्ती पनि त्यो गीत कवि सोतीकै भएको बताउँछन् । आफूले रेडियो नेपालमा बाल कार्यक्रम चलाउँदा दर्जनौ पटक यो गीत बजाएको उनको भनाइ छ । रेडियो नेपालका मुख्य कार्यक्रम अधिकृत पूर्णचन्द्र घिमिरेले पुस्तकालय, कम्प्युटर, रजिष्टर सबैतिर खोजि गर्दा पनि सोतीको शब्दको गीत भए पनि नाम नरहेको बताए ।

‘२०७२ को महाभूकम्पको बेला धेरै पुराना क्यासेट फुटे, सायद सोतीजीको पनि त्यही बेला फुटेको हुनुपर्छ, हामीले सबै पुराना क्यासेटहरूलाई डिजिटलाइज गरिरहेका छौं, धेरै सकियो, अव थोरै मात्र बाँकी छ,’’ घिमिरेले भने, ‘‘यो गीतको सर्जक उहाँ नै भएको प्रमाण भेटेर दिन पाए म आफै पनि भाग्यमानी ठान्ने थिए ।’

उमेरले ७८ लागेका सोती यो गीत आफ्नो बनाउन अव कानुनी लडाइँ लड्ने योजनामा छन् । ‘‘गीतको प्रतिलिपि अधिकार आफ्नो नाममा गराउन मन छ । उमेर पाको भए पनि हिम्मत हारेको छैन, एकपटक फेरि काठमाडौँ जान्छु, गुरुहरूसँग सल्लाह गर्छु र कानुन लडाइँ लड्छु,’’ उनले भने ।

यस्तो छ गीत
म्याउँ–म्याउँ बिरालो यतातिर आउ
मेरो नाना काटी दिने मुसा मारी खाउ
कराइको दूध खाइ देऊ भने
म त भोकै हुन्छु, नखाइदेउ भन्छु
बाबा भन्छिन् खाली बुबु चोर्न जाली
आमा भन्छिन् चोर्ली भाडाहरू फोर्ली
बुबु चो¥यो भने लट्ठीले म हान्छु
नआइज न यता चोर्नै म्याउँ भन्छु

विसं २००६ सालमा लमजुङको कुन्छामा जन्मिएका कवि सोती अहिले पनि अनवरत रूपमा साहित्य सिर्जनामा क्रियाशील छन् । ‘नरोक मलाई’ ‘मेरी मस्र्याङ्दी’, ‘फुल्न नसकेका फूलहरु’ ‘मेरी आमा रुँदी हुन्’ ‘दुई बत्ती निभेर’ लगायत दर्जनौं कविता संग्रह, समालोचना र शोक काब्य, ‘जगदम्बा काब्य’ सहित थुप्रै पुस्तक प्रकाशित भएका छन् । बोमलाल गिरी

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *